Main News

कैलालीका किसानका दुख: धान बेच्न ४ दिन डिपोमै (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १५ गते २०:३८
कैलालीका किसानका दुख: धान बेच्न ४ दिन डिपोमै (भिडियोसहित)

१५ मंसिर, २०७७ धनगढी । धनगढीको मोहनपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा धान विक्री गर्ने किसानको लाइन छ । तर खरिद विक्रि प्रक्रिया सहज नहुँदा धान बेच्न आएका किसान चार दिनसम्म खुला आकासमुनि बस्न बाध्य छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धनगढी डिपो परिसरमा खाना पकाइरहेका उहाँ कञ्चनपुर बेलौरीका किसान राजु चौधरी हुनुहुन्छ । धान बेच्न खाद्यको गोदाममा आएका उहाँको चार दिनमा पनि पालो आएन । त्यसैले चौधरीसहितका किसानले यसरी गोदाम परिसरमा खाना पकाएर खान थालेका छन् ।

ट्याक्टर र गोरु गाडामा लोड गरेर धान लिएर आएका किसान गोदाम परिसरमै खाना पकाउने र ट्याक्टरमा सुत्ने गरेका छन् ।

डिपोमा एउटा मात्रै काँटामा धान जोख्ने गरेका कारण किसानले चार पाँच दिनसम्म पालो कुर्नु परेको छ । पोहोर परार एकै दिनमा धान बेचेर फर्कने किसानलाई यो वर्ष निकै समस्या भएको छ ।

सरकारले मध्यम धानको मूल्य प्रतिक्विन्टल २८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २७ सय ३५ रुपैयाँ तोकेको छ । स्थानीय व्यापारीले भने सरकारी मुल्य भन्दा क्विन्टलमा ५ सय कम दिने गरेका छन् । यस वर्ष व्यापारी र सरकारले तोकेको मूल्यमा धेरै अन्तर भएपछि खाद्यमा धान बेच्ने किसानको भिड लागेको हो ।

खाद्यको प्रादेशिक कार्यालय धनगढीले चालु वर्षमा कैलाली र कञ्चनपुरबाट ७० हजार क्विन्टलभन्दा बढी धान खरिद गर्ने लक्ष्य लिएको छ । र उसले चार ठाउँबाट धान खरिद गरिरहेको छ । तर पनि धान बेच्ने किसान धेरै भएको र कर्मचारी थोरै भएकाले व्यवस्थापनमा समस्या भएको कम्पनीको तर्क छ ।

सरकारले किसानका लागि भन्दै धानको मुल्य बढी तोकेर किसानलाई राहत दिएको छ । तर धान लगाउन र भित्र्याउन जस्तै बेच्न पनि उस्तै समस्या भोग्नु परेको छ । खरीद प्रक्रिया सहज बनाउनेतर्फ सरकारी निकायले ध्यान दिए किसानलाई राहत पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *