Main News

परीक्षण घटाएर कोरोना कम भएको भ्रममा नबस्न सरकारलाई विज्ञको चेतावनी (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १२ गते २०:४२
परीक्षण घटाएर कोरोना कम भएको भ्रममा नबस्न सरकारलाई विज्ञको चेतावनी (भिडियोसहित)

१२ मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु घटेको छैन । तर पछिल्लो पटक संक्रमितको संख्या भने कम देखिएको छ । यसले महामारी नै घट्दै गएको हो कि भन्ने आँकलन पनि गर्न थालिएको छ ।

तर विज्ञले परीक्षण घटाएका कारण यस्तो देखिएको बताएका छन् । उनीहरुले चिसो मौसममा संक्रमण झन बढ्न सक्ने भन्दै परीक्षण घटाएर जोखिम कम भएको भ्रममा नबस्न चेतावनी दिएका छन् ।

नेपालमा अहिलेसम्म दुई लाख २७ हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ९ हजार चार सय जना मुक्त भैसकेका छन् । विज्ञले जाडो बढेसँगै कोरोना संक्रमण पनि बढ्ने र अस्पताल भर्ना हुने संक्रमित पनि बढ्ने चेतावनी दिँदै आएका छन् ।

अहिले पनि कोरोनाका कारण गम्भिर संक्रमित भेन्टिलेटर र आइसीयूमा छन् । तर आइसीयू र भेन्टिलेटर खाली हुँदै गैरहेका छन् । जसले गर्दा संक्रमण नै घटेको हो किन भन्ने आँकलन गरिएको छ । तर पछिल्लो केही महिनायता भने परीक्षणको दायरा नै घटाइएको छ ।

देशभरका प्रयोगशालामा दैनिक २६ हजारभन्दा बढी परीक्षण गर्न सक्ने क्षमता भएपनि अहिले आठदेखि नौ हजारसम्म मात्रैको स्वाब परीक्षण भैरहेको छ । विज्ञका अनुसार यसरी पीसीआर परीक्षण घटाउँदा अप्ठ्यारो परिस्थिति आउन सक्छ ।

सरकारले पीसीआर परीक्षणसँगै कन्ट्रयाक्ट ट्रेसिङलाई पनि प्राथमिकता दिने भनेको थियो । तर अहिले कन्ट्रयाक्ट ट्रेसिङलाई पनि प्राथमिकतामा राखिएको छैन । जस्ले गर्दा संक्रमित व्यक्तिले परीक्षण नै नगर्ने समस्या पनि बढेको छ । यो अवस्थामा सरकारलाई पनि अहिले हामी कुन अवस्थामा छौं भन्ने कुरा स्पष्ट थाहा छैन ।

विश्वका केही देशले कोरोना संक्रमण शून्यमा झरिसकेको घोषणा गरेका छन् । कतिपयले भने संक्रमणको दर उच्च भएकाले नियन्त्रणका योजना बनाइरहेका छन् । तर नेपाल भने संक्रमणको कस्तो अवस्थामा छ भन्ने स्पष्ट हुन सकेको छैन । अहिलेको अवस्थालाई सरकारले विश्लेषण नगर्दा कोरोना संक्रमण नियन्त्रणमा झनै समस्या पर्ने हो कि भन्ने जोखिम बढ्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *