Main News

बर्दिवासमा दिनभर तनाव, प्रहरीले चलायो गोली (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ९ गते २०:१८
बर्दिवासमा दिनभर तनाव, प्रहरीले चलायो गोली (भिडियोसहित)

९ मंसिर, २०७७ बर्दिवास । बालिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महोत्तरीको बर्दिबासमा स्थानीय बासिन्दाले आज दिनभर प्रदर्शन गरे । प्रदर्शनकारी र प्रहरीबीचको झडपका कारण बर्दिवासमा दिनभर जसो भएको तनाव बेलुका साम्य भएको छ ।

झडपमा केही प्रदर्शनकारी र डिएसपी प्रकास विष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते मध्ये दुइजना प्रदर्शनकारीलाई गोली लागेको छ । आरोपी उम्किरहने र अपराध भइरहने भन्दै स्थानीय दुई वटा राजमार्ग अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका थिए । अपराधीलाई आजीवन जेल हाल्नुपर्ने उनीहरुको माग थियो ।

महोत्तरीको बर्दिबास दिनभर तनाबग्रस्त बन्यो । बालिकाका हत्यारालाई कारबाहीको माग राखेर स्थानीयले शवसहित प्रदर्शन गरे । पूर्वपश्चिम राजमार्ग र वीपी राजमार्ग अवरुद्ध भयो । अवरोध हटाउन र प्रदर्शनकारी तितरवितर पार्न प्रहरीले गोली चलायो । अश्रुग्यास हान्यो। प्रहरीको गोली लागेर दुई जना घाइते भए । घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो ।

यी सबै घटना हुनुको कारण हो महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ का शाहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या । आइतबार साँझदेखि वेपत्ता बालिकाको शव गएराति घर नजिकैको खेतमा बोरामा पोको पारेर फालेको अवस्थामा भेटियो ।

हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका वडा नम्बर ५ घर भइ बर्दिवासमा बस्ने अरुणकुमार साहलाई पक्राउ गरेको छ । साह पक्राउ परेपछि नयाँ नयाँ तथ्य खुल्दै गएका छन् ।

आफ्नै घरमा खेलिरहेका बेला बालिका हराएको सूचना आएपछि खोजीमा निस्किएको प्रहरीले सोमबार राती सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालय नजिकको एक झाडीमा बालिकाको शव फेला परेको थियो। शव भेटिएको केही समयमै साहलाई उनकै बाबुले इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा बालिकाको हत्या गरेको भन्दै बुझाए ।

पक्राउ परेका साहले चक्लेट किन्न आएकी बालिकालाई पसलको पछाडिको कोठामा लगेर तौलियाले घाँटी थिचेर हत्या गरेको स्वीकारे । साहले दिनभर र एक रात बालिकाको शव आफू सुत्ने कोठामै राखेको पाइएको छ।

बालिकाको हत्या गरेर झाडीमा शव फ्याँकेपछि साह गौशाला नगरपालिका(५ स्थित आफ्नो घर गए। आफूले गरेको अपराध साहले लामो समय लुकाउन सकेनन र पश्चाताप मान्दै बालिका हत्याको घटना परिवारलाई सुनाए । त्यही कुरा साहको बाबुले प्रहरीलाई सुनाए ।

यो घटना बाहिरिए पछि आक्रोशित स्थानीयले मंगलबार विहान हत्याका अभियुक्त साहको पसल भएको घरमा आगो लगाए । स्थानीय बासीन्दाले बलात्कारपछि बालिकाको हत्या भएको बताइरहेका छन । हत्या आरोपी साह यसअघि पनि हत्याकाण्डमै पक्राउ परेर धरौटीमा रिहा भएका व्यक्ति भएको प्रहरीले बताएको छ।

बैसाख २८ गते महोत्तरीको गौशाला–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको हत्यामा संलग्न भएको आरोपमा गौशाला(५ का साहलाई प्रहरीले पक्राउ गरेको थियो। कर्तव्य ज्यान कसुरको मुद्दा चलाइएका साहलाई जिल्ला अदालत महोत्तरीले १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तत्काल धरौटी तिर्न नसकेपछि केही समय जेल चलान भएका साह पछि १ लाख धरौटी तिरेर रिहा भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *