Main News

त्रिभुवन विश्वविद्यालयले आठ महिनादेखि रोकिएका परीक्षा सञ्चालन गर्ने

हिमालय टिभी
२०७७ मंसिर ५ गते ७:३७
त्रिभुवन विश्वविद्यालयले आठ महिनादेखि रोकिएका परीक्षा सञ्चालन गर्ने

५ मंसिर, २०७७ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आठ महिनादेखि रोकिएका परीक्षा धमाधम लिने भएको छ ।

कोभिड–१९ संकटकैबीच स्वास्थ्य सावधानी अपनाउँदै परीक्षा नियन्त्रण कार्यालय तथा डिन कार्यालयले परीक्षा सञ्चालन गर्न लागेका हुन् ।

कोरोना संक्रमण भएका, तर केन्द्रमा पुगेर परीक्षा दिन सक्ने अवस्थाका परीक्षार्थीलाई अलग्गै राखेर परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

यस्तै, केन्द्रमा पुग्न नसक्ने परीक्षार्थीलाई प्रमाणका आधारमा पछि परीक्षा लिने व्यवस्था पनि गरिएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले मंसिर २८ गतेदेखि स्नातक तहको विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकाय चौथो वर्षका परीक्षा सञ्चालन गर्दैछ ।

ती सबै वार्षिक प्रणालीका परीक्षा हुन् । कोभिड–१९ पजिटिभ भए पनि परीक्षा दिन सक्नेहरूका लागि अरूभन्दा १५ मिनेटपछि केन्द्रमा प्रवेश गराई छुट्टै कोठामा राखेर परीक्षा लिइने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

परीक्षार्थी केन्द्रसम्म आउन नसक्ने भएमा पछि लिने व्यवस्था मिलाइएको छ । जोशीका अनुसार परीक्षामा सामेल हुन नसक्नेले आफू कोरोना संक्रमित भएको प्रमाणसहित आफूले पढेको क्याम्पसमार्फत परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराउनुपर्नेछ ।

यसपटक विद्यार्थीले घरपायकको केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् । आउजाउमा कठिनाइ र कोरोना संक्रमणको जोखिम कम गर्ने उद्देश्यले घरपायक केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको हो । स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका परीक्षामा भने दुई घन्टाको समयावधि तोकिएको छ ।

कोरोना सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ ।

त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । बोर्डले गत वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने तर स्थगित भएको परीक्षा यही मङ्सिर ९ गतेदेखि सञ्चालन गर्दैछ । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *