दिदीबहिनी र दाजुभाइ नहुनेहरुको संगमस्थल रानपोखरीस्थित बालगोपालेश्वर मन्दिर (फोटो फिचरसहित)
१ मंसिर, २०७७ काठमाडौं । हरेक वर्ष भाइटीकाका दिन खुल्ने बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएपछि पहिलो पटक खुला गरिएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीकोबिचमा रहेको बालगोपालेश्वर मन्दिर ५ वर्षपछि आज खुला गरिएको हो । यो मन्दिर वर्षमा एकदिन मात्रै खुला हुने गर्दछ ।
तर भूकम्पपछि भने ५ वर्षसम्म खुल्न सकेन । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा टीका लगाउने चलन रहेको छ । २०७२ को भूकम्पका कारण क्षति पुगेपछि बालगोपालेश्वरको मन्दिर बन्द थियो । मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो ।
अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो । लामो समयपछि यो वर्ष भाइटीकाका दिन बालगोपालेश्वरको दर्शन गर्न पुगेका सर्वसाधारणहरु खुसी देखिन्छन् । पुनर्निर्माण अघिको भन्दा अहिलेको रानीपोखरी सफा रहेको उनीहरुको भनाइ छ । ५ वर्षपछि पुनः बालगोपालेश्वरको दर्शन गरी भाइटीका लगाउन पाउँदा सर्वसाधारण खुसी देखिन्छन् ।
कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर दर्शनको व्यवस्था गरिएको छ । भीड व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले स्वयमसेवक समेत परिचालन गरेको छ ।
फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले भोलि २ गते पनि मन्दिर खुला हुनेछन् । महानगरपालिकाले भीडभाड कम गर्न टीका नलगाउनेहरुलाई अहिले नआउन पनि आग्रह गरेको छ ।
अवलोकनका लागि छ्टिटै खुला गरिने महानगरपालिकाको भनाइ छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर कात्तिक महिनामा रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गएको कात्तिक ५ गते रानीपोखरी उदघाटन गर्नुका साथै बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा गर्नुभएको थियो । विक्रम संवत् २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन खुल्दै आएको छ ।
प्रतिक्रिया