राजनीति

प्रचण्ड फकाउने प्रयासमा ओली, खुमलटारमा दिनहुँ दूत पठाउँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १४ गते २०:२७
प्रचण्ड फकाउने प्रयासमा ओली, खुमलटारमा दिनहुँ दूत पठाउँदै (भिडियोसहित)

१४ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेकपाभित्र फेरि आन्तरिक कलह चर्केको छ। स्थिति यस्तो आएको छ कि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकै ठाउँ बसेर छलफल गर्ने वातावरणसमेत बन्न सकेको छैन ।

सधैं बालुवाटार धाउने प्रचण्डलाई फकाउन ओलीले केही दिनयता लगातार आफ्ना दूत खुमलटार पठाइरहनु भएको छ । तैपनि प्रचण्ड संवादका लागि तयार हुनुभएको छैन । प्रचण्ड मनाउन दूत खटाएका ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि उसैगरी छलफल अघि बढाउनु भएको छ । ओलीसँग भेट्न नमानेका प्रचण्डले वरिष्ठ नेता नेपाल लगायत अरु सचिवालय सदस्यसँग भने पटकपटक छलफल गर्नुभएको छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका फरकफरक निर्देशनले अहिले दुई नेताबीच कुन हदसम्मको मतभेद छ भन्ने प्रष्ट हुन्छ । पहिले संयुक्त रुपमा पार्टी कमिटीलाई निर्देशन गर्ने नेताहरु छुट्टाछुट्टै हस्ताक्षर गरेर आफू अनुकुल निर्देशन जारी गर्ने तहमा पुगेका छन् । कात्तिक ४ गते दुई नेताबीच कर्णाली प्रदेशको विवाद, मन्त्रिपरिषद् पुनर्गठन, राजदूतको सिफारिसबारे छलफल भएपनि सहमति हुन सकेको थिएन र दुवै नेताका सचिवालयले विपरित दावी सहितका प्रेस नोट जारी गरेपछि मतभेदको स्तर छताछुल्ल भएको थियो ।

तर ओली र प्रचण्डबाट एकल हस्ताक्षरसहितको निर्देशन जारी होला भनेर धेरैले अनुमान गरेका थिएनन् । यो मतभेद बढेर अहिले संवादहीनताको अवस्थामा पुगेको छ । कात्तिक ४ गतेयता दुई नेताबीच छलफल हुन सकेको छैन ।

प्रचण्डलाई मनाउने ओलीको प्रयास, खुमलटारमा ओलीका दूत
अघिल्लो महिना ओली र प्रचण्डबीच १५ पटक भेटवार्ता भयो । भेटवार्ताका लागि प्रचण्डले बालुवाटार धाइरहनुभयो । तर मन्त्रिपरिषद पूनर्गठनमा कुरा मिलेन, ओलीले आफू अनुकुल पुनर्गठन गर्नुभयो, राजदूत पनि सिफारिस गर्नुभयो ।

त्यहीबीचमा ओली निकट नेताहरुले कर्णाली प्रदेशमा प्रचण्ड निकट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्‍यो । त्यसपछि दुई नेताबीच थप विवाद बढेर संवादहीनताको अवस्था उत्पन्न भयो । र, पहिले बालुवाटार धाउने प्रचण्डलाई मनाउन ओलीले आफ्ना दूतलाई हरेक दिन खुमलटार खटाइरहनुभएको छ ।

पछिल्लो तीन दिनमा ओलीले आफ्ना निकै विश्वास पात्र ४ नेतालाई खुमलटार पठाउनुभएको छ । कात्तिक १२ गते पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ, कात्तिक १३ गते स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र कात्तिक १४ गते शुक्रबार स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खुमलटार पुगेर प्रचण्डलाई संवादका लागि मनाउने कोशिस गर्नुभएको छ । ओली निकट नेताहरुले संवाद अघि बढाउन आग्रह गरेपनि प्रचण्ड ओलीसँग संवादका लागि तयार हुनुभएको छैन ।

प्रचण्डको अडान–अब झुक्दिनँ
पहिले बालुवाटार धाउने गरेका प्रचण्डले अब ओलीसँग नझुक्ने आफू निकट नेताहरुलाई बताउँदै आउनुभएको छ । ओलीले समस्या पर्दा सहमति गर्ने र सहज भएपछि पटकपटक एकलौटी ढंगले अघि बढ्ने गरेकाले अब एकल वार्ता नगर्ने प्रचण्डको अडान छ । प्रचण्डको भनाइ उधृत गर्दै निकट एक नेताले भने– कार्यशैली उस्तै राखेर अब संवाद र सहमतिको कुनै अर्थ छैन । ओलीले पार्टी निर्णय नमानेको, पार्टी कमिटीलाई आफू अधिनस्थ बनाउन खोजेको, अरुलाई बदनाम गराउने प्रयास गरिरहेको प्रचण्डको आरोप छ ।

माधव नेपाललाई फकाउने ओली प्रचण्डको प्रयास
आफू दुई जनाबीच संवादहीनताको अवस्था भएपछि प्रचण्ड र ओलीले पार्टीभित्रको तेस्रो धार वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो पक्षमा मनाउने प्रयास पनि समानान्तर ढंगले गर्नुभएको छ । ओलीले पटकपटक भेटेर वरिष्ठ नेता नेपाललाई पार्टी अध्यक्ष बनाउने भन्दै सहमतिका लागि प्रस्ताव नै गर्नुभएको छ । तर वरिष्ठ नेता नेपालले त्यसलाई मान्नुभएको छैन ।

प्रचण्डले पनि वरिष्ठ नेता नेपालसँग एकल र अरु नेतासहित सामूहिक वार्ता गर्नुभएको छ । केही दिनयता प्रचण्डले हरेक दिनजसो खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग निरन्तर छलफल गर्नुभएको छ । र, यी छलफलमा ओली पार्टी निर्णय नमान्ने मूडमै रहेको निष्कर्ष निकालिएको छ ।

ओलीभन्दा प्रचण्डसँग नजिक नेता नेपाल
ओली र प्रचण्ड मिल्दा उपेक्षामा पर्ने वरिष्ठ नेता नेपाल यी दुई नेता नमिल्दा तानातानमा पर्नुहुन्छ र यसपटक दुई अध्यक्षबीच संवाद टुटेका बेला नेपाल फेरि तानातानमा पर्नुभएको छ । नेपाललाइ खासै मतलव नगर्ने ओलीले पनि यसपटक विशेष जोड दिनुभएको छ । तर नेता नेपालले ओलीलाई विश्वास गर्न नसकेको उहाँ निकट नेताहरुले बताएका छन ।

नेपाल निकट एक स्थायी कमिटी सदस्यका अनुसार अहिले पनि ओली एउटालाई च्याप्ने र अर्कोलाई ठोक्ने रणनीतिमै रहेकाले विश्वास गर्न सकिने अवस्था छैन । नेपाल पक्षको बुझाई छ, ओलीलाई पार्टी विधि विधानको कुनै मतलव छैन, खाली आफू बलियो हुन पाए पुग्छ । त्यसैले अहिले प्रचण्डलाई छोडेर ओलीसँग समीकरण बनाउने अवस्था नरहेको नेपाल पक्षको निष्कर्ष छ । सहमति गर्ने हो भने ओलीबाट नेतृत्व हस्तान्तरण प्रस्ताव आउनुपर्ने नेपाल पक्षको अडान छ । प्रचण्डले विचलित नभई अब ओलीविरुद्ध प्रष्ट अडानका साथ कदम चाल्नुपर्ने नेपाल पक्षको मत छ ।

पछिल्लो पटक विकसित घट्नाक्रमले सत्तारुढ नेकपा फेरि स्थायी कमिटीको भदौ २६ को निर्णयभन्दा अघिकै अवस्थामा अर्थात, अविश्वास, विवाद र एकअर्कालाई देखाईदिने तहमा पुगेको छ । र, यसपटक त्यो कसरी प्रकट हुन्छ, त्यो केही दिनमै प्रष्ट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्