आर्थिक

सरकारको आम्दानी भन्दा खर्च धेरै, चल्छ अब कसरी ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २ गते २०:२४
सरकारको आम्दानी भन्दा खर्च धेरै, चल्छ अब कसरी ? (भिडियोसहित)

२ कात्तिक, २०७७ काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले १ खर्ब ७२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । तर सरकारको खर्च भने २ खर्ब रुपैयाँ नाघेको छ । साउनदेखि असोजभित्रमै राजस्व संकलन र खर्चबिच २९ अर्ब रुपैयाँको अन्तर देखिएको छ ।

सरकारको आय र व्ययको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि असोजसम्मा करबाट १ खर्ब ६३ अर्ब ४२ करोड रुपैयाँ राजस्व उठेको छ । गैर–कर राजस्व ८ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको छ । पहिलो त्रैमासमा सरकारले १ खर्ब ७२ अर्ब ३६ करोड रुपैयाँ राजस्व उठाएको छ।

सरकारको हालसम्मको आम्दानी
कर राजस्व : १ खर्ब ६३ अर्ब ४२ करोड रुपैयाँ
गैर-कर राजस्व : ८ अर्ब ९३ करोड रुपैयाँ
कुल राजस्व संकलन : १ खर्ब ७२ अर्ब ३६ करोड रुपैयाँ

सरकारको हालसम्मको खर्च
चालु खर्च : १ खर्ब ८२ अर्ब ६१ करोड रुपैयाँ
विकास खर्च : १५ अर्ब ४ करोड रुपैयाँ
वित्तीय खर्च : ३ अर्ब ४१ करोड रुपैयाँ
कुल खर्च : २ खर्ब १ अर्ब ७ करोड रुपैयाँ

चालु आर्थिक वर्षमा सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा पहिलो त्रैमासमा त्यसको १७ प्रतिशत मात्र उठेको छ ।

कोरोना महामारीका माझ राजस्व संकलनमा सुधार आउँदै गएको महालेखाको तथ्यांकले देखाएको छ । तर कोरोना महामारीले राजस्व संकलनमा कमी ल्याए पनि त्यसको तुलनामा सरकारी खर्च भने नियन्त्रित हुन सकेन ।

यसको असर चालु आर्थिक वर्षको पहिलो त्रैमासको आय र खर्चबीच ठूलो अन्तर देखिएको छ । सरकारले उठाएको राजस्वबाट सरकारको प्रशासनिक खर्च समेत नधान्ने स्थिति छ । गएका तीन महिनामा सरकारले १ खर्ब ८२ अर्ब ६१ करोड रुपैयाँ चालु खर्च गरेको छ । यो संकलित राजस्वभन्दा १० अर्ब २५ करोड रुपैयाँ अधिक हो ।

यसबाहेक पछिल्लो तीन महिनामा १५ अर्ब ४ करोड रुपैयाँ विकास खर्च र ३ अर्ब ४१ करोड रुपैयाँ वित्तीय खर्च भएको छ । कुल गरेर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब १ अर्ब ७ करोड रुपैयाँ खर्चेको छ। यसबाट साउनदेखि असोजभित्रै राजस्व संकलन र खर्चबिच २९ अर्ब रुपैयाँ अन्तर छ । अर्थात सरकारले गरेको आय भन्दा खर्च २९ अर्ब रुपैयाँ बढी छ ।

राजस्व संकलनभन्दा अधिक खर्च भएपछि त्यो पूर्ति गर्न सरकारले २२ अर्ब ५६ करोड रुपैयाँ ‘अन्य प्राप्ति’ शिर्षकमा उठाएको छ । यो विभिन्न निकायमा गत वर्ष खर्च नभएको रकम, बेरुजु असुली, संस्थानका लाभांशलगायतबाट तानिएको रकम हो ।

यस्तै ५ अर्ब अनुदान समेत प्राप्त भएको छ । यी सबैबाट पहिलो त्रैमासिकमा सरकारले १ खर्ब ९९ अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको छ । तर सबै आम्दानी जोड्दा समेत खर्च अझै १ अर्ब १४ करोड रुपैयाँ बढी छ ।

पहिलो त्रैमासमै देखिएको यो खाडल यो महिना अझ बढ्नेछ । कर्मचारीको तलब, सामाजिक सुरक्षा लगायतका भत्तामा सरकारको मासिक ४० अर्ब रुपैयाँ खर्च हुँदै आएको छ । तर यो महिना दशैं पर्ने र दशैंमा थप एक महिनाको अतिरिक्त तलब भत्ता खुवाउनुपर्ने भएकाले यो महिना खर्च अझै बढ्ने देखिन्छ ।

तर त्यसअनुरुप राजस्व संकलन भने हुने सम्भावना छैन । यसले यही गतिमा चालु खर्च हुँदै जाने हो भने सरकारी ढुकुटीमा चाप मात्र पर्नेछैन् सरकार वित्तीय संकटतर्फ धकेलिने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *