शुरु भयो दशैं, सार्वजनिक यातायातमा छैन चाप

१ कात्तिक, २०७७ काठमाडौं । यो वर्षको बडा दशैं आजदेखि शुरु भएको छ । गत वर्षहरुमा देशका मुख्य शहरहरुबाट दशैं मनाउन गाउँ जानेको भिड हुने गरेकोमा यो वर्ष भने भिडभाड देखिएको छैन ।
आजदेखि शुरु दशैंका लागि अग्रिम टिकट बुकिङ पनि नखुल्ने भएको छ। यातायात व्यवसायीले कोरोना संक्रमणका कारण यात्रुको चाप नभएकाले अग्रिम टिकट बुकिङ आवश्यक नभएको बताएका छन्।
यातायात व्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष योगेन्द्र कर्माचार्यले सार्वजनिक यातायातमा यात्रुको चाप नभएको बताउनुभयो । काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढिरहेका कारण पनि उपत्यका छाड्नेको संख्या कमी आएको छ ।
हिन्दू नेपालीहरुको महान् चाड दसैँ तिहार मनाउन काठमाडौं उपत्यकामा अध्ययन, रोजगारी तथा व्यवसायका लागि आएका अधिकांश मानिस आफ्नो गाउँ जाने गरेका थिए।
कोरोना संक्रमणका कारण चैतमा लकडाउन भएपछि अधिकांश विद्यार्थी गाउँ घरमै छन्। शैक्षिक संस्था चले पनि अनलाइनमार्फत अध्ययन भइरहेकाले विद्यार्थीलाई काठमाडौं फर्किन परेन।
दशैंको समयमा गत वर्षहरुमा करिब २० लाखले उपत्यका छाड्ने गरेका थिए। यो वर्ष भने लगभग दुई लाख यात्रुले मात्र काठमाडौं उपत्यका छोडेको अनुमान गरिएको छ ।
प्रतिक्रिया