Main News

प्रहरी मुख्यालयमा के भने प्रधानमन्त्री ओलीले ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ३० गते २०:४०
प्रहरी मुख्यालयमा के भने प्रधानमन्त्री ओलीले ? (भिडियोसहित)

३० असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणको सुरवाती चरणमा कुनै न कुनै बहानामा सञ्चार माध्यममा छाइरहने प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय गुमानाम जस्तै हुनुहुन्थ्यो ।

उहाँ पार्टीका भित्रि काम र सरकार फेरबदलको गृहकार्यमा लागेको खबर सञ्चार माध्यममा आए पनि देशमा कोरोना भाइरसका संक्रमित र संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीब्र रुपमा बढिरहँदा नागरिकले प्रधानमन्त्रीलाई देख्न र सुन्न पाएका थिएनन् । तर आज ६५औं प्रहरी दिवसका अवरमा प्रधानमन्त्री ओली प्रहरी प्रधान कार्यालय नक्सालमा देखिनुभयो ।

कोरोना संक्रमण सामान्य भएको बेलामा हाँच्छ्यु गरेर र बेसार पानी खाएर कोरोनाबाट बच्न सकिन्छ भनेर गलत सल्लाह दिने प्रधानमन्त्रीले आज भने कोरोनाबारे खास्सै केही भन्नुभएन ।

६५औं प्रहरी दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले प्रहरीले आफ्नो काम सही ढंगले नगरे प्रहरीमाथिको जनताको विश्वास हटेर जाने बताउनुभयो ।

नागरिकले प्रहरीको विश्वासलाई सिरानीमान्ने गरेको भन्दै सोही अनुसार काम गर्न प्रहरीलाई उहाँको निर्देशन थियो । तर प्रहरी र जनता विश्वासका कुरा गर्ने प्रधानमन्त्रीले कोरोना भाइरसले देशनै थलिएको बेला, भेन्टिलेटर र आईसीयू नपाएर कोरोना संक्रमित मरिरहेको बेला कोरोना बारे खासै केही बोल्नुभएन । उहाँले कोरोनामा सतर्कता अपनाउनु भन्ने बाहेक उहाँको मुखबाट अरु केही सुनिएन ।

लकडाउन र निषेधाज्ञा हटे पनि नागरिक अहिले पनि भोक भोकै छन् । उनीहरुसँग साथमा काम र खल्तीमा दाम छैन । तर प्रधानमन्त्रीले नागरिकका यी समस्याका बारेमा थाहा पत्तो नै नपाएको जस्तै गरेर सरकारले जनताका लागि ठूलो काम गरेको दावी गर्नुभयो ।

पछिल्लो समय बलात्कारका घट्ना बढिरहेको छ । सरकारी तथ्याङ्कलाई नै आधारमान्ने हो भने हरेक दिन ७ जना बलात्कारको शिकार भइरहेका छन् । त्यसैले प्रधानमन्त्रीले बलात्कारका घट्ना रोक्न कडा कानून ल्याउने सम्बन्धमा काम गरिरहेको उद्घोष गर्नुभयो ।

हुन पनि एसिड आक्रमणका घट्नाका सम्बन्धमा सरकारले चालेको कदम ऐतिहासिक छ । र बलात्कारका घट्ना रोक्न कडा कानूनी ल्याउने उद्घोष पनि स्वागतयोग्य छ ।

तर कुनै एक उपलब्धिलाई मात्र देखाएर जनताले दिनहुँ भोगिरहेको कष्टलाई गरिएको नजरअन्दाज भने स्वीकार्न सकिन्न । किनकी संविधानले नै प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य उपचारको हक नागरिकबाट खोसिरहेको सरकारले बनाउने अरु कानूनको प्रभावकारीता कसरी जोख्न सकिन्छ । किनकी अहिलेको जनताको आवश्यकता कोरानाबाट बच्नु र निशुल्क र सहज उपचार पाउनु हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *