Main News

प्रदेश ५ को स्थायी राजधानी र नामका विषयमा प्रदेशसभामा छलफल शुरु हुँदै

हिमालय टिभी
२०७७ असोज १९ गते ९:१३
प्रदेश ५ को स्थायी राजधानी र नामका विषयमा प्रदेशसभामा छलफल शुरु हुँदै

१९ असोज, २०७७, बुटवल । प्रदेश ५ को नाम र राजधानीसम्बन्ध िप्रस्तावमाथि आजदेखि छलफल शुरु हुँदै छ ।

प्रदेशसभामा आज र भोलि प्रदेशको नाम र राजधानीबारे छलफल हुने र पर्सी निर्णयार्थ पेश गर्ने तयारी गरिएको छ । सभामुखले प्रदेशसभामा प्रस्तुत प्रस्तावमाथि छलफलका लागि आज सांसदहरुलाई समय दिने कार्यसुचि रहेको छ । सांसदहरुले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर्णयार्थ पेश हुनेछ।

आज र भोलि छलफल चलाएर बुधबार प्रस्ताव निर्णयार्थ पेश गर्ने तयारी गरिएको हो । राजधानीको प्रस्तावमाथि छलफल सकिएको भोलिपल्ट नै प्रदेशसभाले राजधानी र नामाकरण टुग्याउने छ।

सभामुखले सभामा छलफलपछि पेश भएका संशोधन प्रस्तावकलाई बैठकमा पेश गर्न दिने छन्। संशोधन प्रस्ताव पेश भएपछि सभामुखले मूल प्रस्तावमाथि मतदान गर्न आदेश दिनेछन्। मूल प्रस्तावमा दुई तिहाई पुगेको खण्डमा संशोधन प्रस्ताव स्वतः निस्क्रिय हुनेछ।

तर, मूल प्रस्तावमा दुई तिहाई नपुगेको खण्डमा भने संशोधन प्रस्तावमाथि मतदान गर्ने आदेश सभामुखबाट हुनेछ। यदि संशोधन प्रस्तावमा दुई तिहाई मत भएको खण्डमा भने त्यो नै पारित हुने प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

प्रदेश ५ को स्थायी राजधानी र नामाकरण सम्बन्धी प्रस्तावमाथि संशोधन पेश गर्नका लागि १८ घण्टाको समय निर्धारण गरिएको छ।

असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो।

यो प्रस्ताव पास हुनका लागि प्रदेशसभामा रहेका ८७ जना सांसदमध्ये ५८ जनाको मत चाहिन्छ। संविधानले प्रदेशसभाका कुल सदस्यको २ तिहाई मतले प्रदेश राजधानी तोक्ने र नामाकरण गर्न सकिने उल्लेख गरेको छ।

६१ सांसद रहेको नेकपाका सबै सांसदले सरकारको प्रस्तावमा मतदान गरेमा राजधानी दाङ सर्ने पक्का हुनेछ। कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् ।

बुटवलमा भने राजधानी सार्ने निर्णयको विरोधमा निरन्तर प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *