राजनीति

असोज १७ देखि असोज १७ सम्मको नेकपा : वाचा बिर्सिँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १७ गते २०:४९
असोज १७ देखि असोज १७ सम्मको नेकपा : वाचा बिर्सिँदै (भिडियोसहित)

१७ असोज, २०७७, काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले तीन वर्षअघि आजकै दिन गठनबन्धन गर्दै चुनावमा होमिएका थिए । चुनावी गठबन्धन घोषणा गर्दा पार्टी एकता गर्ने, चुनाव जितेर सरकार बनाउने अनि जनताका लागि काम गर्ने समाजवादको आधार तयार पार्ने वाचा गरेका थिए । तर, चुनाव जितेर सरकार बनाए पनि नेकपाले अरु वाचा अनुसार काम भने गर्न सकेन ।

२०७४ साल असोज १७ गते विभिन्न वाचा गर्दै तत्कालीन एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा गृहबाट चुनावी गठबन्धनको घोषणा गरे । पार्टी एकता समेत गर्ने प्रतिबद्धता जनाउँदै उनीहरुले देश र जनताको पक्षमा काम गर्दै न्यायपूर्ण समाज निर्माण गर्दै समाजवादका आधार तयार पार्ने वाचा पनि गरे ।

बामगठबन्धनले चुनाव पनि जित्यो र झण्डै दुई तिहाई बहुमत पनि ल्यायो । पार्टी एकता पनि भयो । तर दिन वित्दै जाँदा वामगठबन्धन हुँदै बनेको नेकपाले वाचा बिर्सदै गयो । राजनीतिक विश्लेषक हरि रोकाका नजरमा नेकपा अहिले २०७४ साल असोज १७ गतेको वाचा विपरीत हिंडिरहेको छ ।

एकातिर ९–९ महिनामा सरकार फेरिने रोग अर्कोतिर जनताका लागि काम गर्छु भन्ने वाम गठबन्धनको वाचा । यसले धेरैलाई खुशी बनाएको थियो किनकी सरकार बनाउने र ढाल्ने खेल नभए जनताका पक्षमा काम हुन्छ भन्ने धेरैलाई लागेको थियो । तर अपेक्षा अनुसार ओली सरकारले कामै गरेन । जे गर्नुपर्ने थियो त्यसमा ध्यानै दिएन ।

सरकारसँग अहिले पनि दुई वर्ष भन्दा बढी समय छ काम गर्न । बलियो सरकार भएकाले जनता अहिले पनि वाचा अनुसार काम गर्छ कि भन्ने आशमा छन् । तर राजनीतिक विश्लेषक रोकालाई सरकारले काम गर्छ भन्ने विश्वास नै छैन । किनकी अहिलेसम्म काम गर्न नसकेको मान्न सरकार तयार छैन । त्यसैले सरकार झन गलत बाटोमा जान्छ भन्ने उहाँलाई लागेको छ ।

घट्नाक्रम हेर्दा नेकपा नेतृत्वको सरकार दिशाहीन देखिएको छ । चुनावमा जनतासँग के वाचा गरिएको थियो भन्ने समेत नेकपाको सरकारले भूले जस्तो छ । त्यसैले गफ होइन, काम गर्ने इच्छाशक्ति हुने हो भने समय अझै पनि छ, तर त्यसका लागि सबैभन्दा पहिले प्रधानमन्त्रीले आत्मसमीक्षाका लागि तयार हुनु जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्