Main News

विभिन्न ८ सूत्रीय मागसहित आन्दोलनमा उत्रने सरकारी चिकित्सकको चेतावनी

हिमालय टिभी
२०७७ असोज १६ गते १३:०४
विभिन्न ८ सूत्रीय मागसहित आन्दोलनमा उत्रने सरकारी चिकित्सकको चेतावनी

१६ असोज, २०७७ काठमाडौं । सरकारी चिकित्सकले विभिन्न ८ सूत्रीय माग राख्दै पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आज विज्ञप्ति निकालेर सरकारको अकर्मण्यताका कारण आफूहरु निराश भएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

कोरोना संक्रमणका कारण एक जना चिकित्सकले ज्यान गुमाएको, अर्का चिकित्सक अनशनमा बसेको, तर सरकारले यस्ता विषयमा ध्यान दिन छाडेर राजनीतिक नियुक्तिमा रमाएको भन्दै उनीहरुले चर्को असन्तुष्टि पोखेका छन् ।

संघले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पीपीई लगायतका स्वास्थ्य सुरक्षा सामग्री दिन, चिकित्सकको भत्ता ५ सय प्रतिशत बढाउन, वृत्ति विकास र सामाजिक सुरक्षाका विषयमा स्वास्थ्य मन्त्रालयको प्रस्ताव यथाशीघ्र लागू गर्नुपर्ने माग गरेको छ ।

यस्तै संघले कोरोनाबाट ज्यान गुमाएका डाक्टर हरि सापकोटालाई सहिद घोषणा गरी परिवारलाई तत्काल एक करोड राहत दिन माग पनि गरेको छ ।

डाक्टर गोविन्द केसीका माग यथाशिघ्र सम्बोधन गरी अब कहिल्यै अनशन बस्न नपर्ने वातावरण बनाउन पनि सरकारी चिकित्सकको माग छ ।

पटकपटकको लकडाउनलाई समाधान नभई युद्धस्तरको तयारीको अवसरका रुपमा लिएर अघि बढ्नुपर्ने, लकडाउनले मारमा परेका नागरिकका लागि विशेष आर्थिक प्याकेज ल्याउनु पर्नेमा संघको जोड छ । आफ्ना माग तत्काल पूरा नभए छिट्टै आन्दोलनमा उत्रिने संघले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *