Main News

सरकारी अस्पतालले भर्ना लिएनन्, निजीमा लैजान पैसा भएन, गर्भवती महिलाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २६ गते १२:५१
सरकारी अस्पतालले भर्ना लिएनन्, निजीमा लैजान पैसा भएन, गर्भवती महिलाको मृत्यु

२६ भदौ, २०७७ काठमाडौं । सरकारी अस्पतालले भर्ना नलिँदा र निजी अस्पतालमा लैजान पैसा नहुँदा विराटनगरमा एक गर्भवती महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–६ सुकुम्बासी टोलकी ३० वर्षीया विमला ऋषिदेवको कोशी अस्पतालले भर्ना नलिँदा मृत्यु भएको हो । प्रसूति व्यथाले च्यापेपछि श्रीमान शिवु ऋषिदेवले विमलालाई कोशी अस्पताल पुर्‍याउनु भएको थियो ।

तर, बेड खाली नभएको भन्दै अस्पतालले भर्ना नलिएपछि विमलालाई घर फर्काइएको थियो । अस्पतालबाट फर्काएर घरमा लगिएकी विमलाको बच्चा जन्माउन नपाउँदै मृत्यु भएको स्थानीय विकेश मुखियाले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएकाले अन्यन्त्र अस्पतालमा लान पैसा नभएको भन्दै श्रीमान शिवुले विमलालाई घर फर्काउनु भएको थियो । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर चुमनलाल दासले प्रसूतिका लागि ल्याइएका गर्भवती महिलालाई अस्पतालले फिर्ता पठाउन नमिल्ने भन्दै छानबिन गर्ने बताउनुभएको छ ।

यसअघि पनि अस्पतालले भर्ना नलिँदा गर्भवती महिलाको ज्यान गएको थियो । मोरङको कानेपोखरी गाँउपालिकाकी सात महिनाकी गर्भवती २३ वर्षीया सविना थापा दर्जी, पथरी शनिश्चरेकी ६२ वर्षीया सानकुमारी राई, उदयपुर चौदण्डीगढी नगरपालिकाकी ६५ वर्षीया डम्बरकुमारी बस्नेत, उदयपुरकै २३ वर्षीय पदम राईलगायतको विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भइसकेको छ ।

यसअघि विराटनगरका विभिन्न ६ वटा अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ८१ वर्षीय डिगबहादुर राईलाई पनि विराटनगरबाट बुधबार हेलिकोप्टर चार्टर्ड गरेर घर फर्कनुपरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *