पुल्चोक झडपका क्रममा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि
२० भदौ, २०७७ काठमाडौं । ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा झडप हुँदा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि भएको छ ।
पुल्चोकमा भएको झडपका क्रममा महानगरीय प्रहरी बृत्त सातदोबाटो र प्रहरी परिसर ललितपुरबाट टोली खटिएको थियो। उपत्यकाका ५६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि हुँदा भीड नियन्त्रणमा खटिएका १८ जनालाई संक्रमण देखिएको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले सातदोबाटो बृत्तसहितका प्रहरीलाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । पछिल्लो समय काठमाडौंमा उपत्यकामा तैनाथ प्रहरीमा तीव्र गतिमा कोरोना फैलिरहेको छ।
प्रहरीलाई ठूलो संख्यामा कोरोना देखिन थालेपछि पुल्चोकमा खटिएकासहिको स्वाब संकलन गरिएको थियो। तर स्वाब संकलन गरिसकेर रिपोर्ट नआउन्जेल उनीहरुलाई सेल्फ आइसोलेसनमा राख्नुपर्नेमा भीड नियन्त्रणका लागि तैनाथ गरिएको थियो।
पुल्चोकमा भएको झडपका क्रममा केही प्रहरी र सर्वसाधारण पनि घाइते भएका थिए। पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गर्ने तथा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्नेसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया