रविभवनबासीले गरे कोरोना संक्रमितको उपचार गरेर घर आएका चिकित्सकको यस्तो भव्य स्वागत (भिडियोसहित)

१९ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक स्वास्थ्यकर्मीमाथि अपहेलना र दुर्व्यवहार भएका खबर आइरहेका छन् ।
यहीबीचमा काठमाडौंको रविभवनका बासिन्दाले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकलाई फूलमालाले स्वागत गरेका छन् ।
सशस्त्र प्रहरी अस्पताल बलम्बुमा कार्यरत डाक्टर रोशन कुमार झा, कोरोना संक्रमितको उपचारमा सुरुदेखि नै खटिनुभएको छ । अहिले उहाँ होम आइसोलेसनमा हुनुहुन्छ । १५ दिनसम्म कोरोना संक्रमितको उपचार गरेपछि उहाँ होम आइसोलेसनमा बस्नु भएको हो ।
१५ दिनको अस्पताल बसाइपछि, बुधबार डाक्टर झा, रविभवन, सोल्टीमोड वडा नम्बर १३ मा रहेको आफ्नो घरमा पुग्नुभयो । कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार भएको उहाँले सुनिरहनुभएको थियो । तर बुधबार उहाँ घरमा पुग्दा भने बेग्लै दृष्य देखियो । छिमेकी स्वागत गर्न फुलमाला लिएर बसेका थिए ।
यसरी छिमेकीले आफूलाई स्वागत गरेको देख्दा डाक्टर झा गम्भीर बन्नु भएको थियो ।
अस्पतालमा चिकित्सकले आलोपालको आधारमा डियुटि गर्नुपर्छ । उनीहरुलाई होटलमै बस्ने व्यवस्था पनि छ । तर पनि डाक्टर रोशन घरमा बस्ने ठाउँ र आफ्नो परिवारलाई भेट्न घरमै आउनुभयो । अस्पतालमा रहदाँ पनि छिमेकीले घर कहिले आउने भनेर फोन गरिरहन्थे ।
अहिले जोखिमका बीचमा पनि चिकित्सक स्वास्थ्यकर्मी कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका छन् । यस्तो अवस्थामा उनीहरुलाई सबैले हौसला दिनु आवस्यक छ । सबैका छिमेकी डा रोशनका जस्तै भइदिए कति जाति हुन्थ्यो होला ।
प्रतिक्रिया