Main News

ढोरपाटन पहिरोमा बेपत्ता १३ जनाको परिचय खुल्यो, आठको शव फेला, सनाखत हुन बाँकी

हिमालय टिभी
२०७७ भदौ १८ गते ८:४९
ढोरपाटन पहिरोमा बेपत्ता १३ जनाको परिचय खुल्यो, आठको शव फेला, सनाखत हुन बाँकी

१८ भदौ, २०७७, बलेवा। बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ ।

ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए ।

उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् ।

त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर, उनको छोरा नाम नखुलेको ६ वर्षीया बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएर क्षति बनाएको छ । घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको सङ्ख्या बढ्न सक्ने बताउनुभयो । “बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको सङ्ख्या बढ्न सक्ने अनुमान छ”, रेग्मीले भन्नुभयो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

ढोरपाटनकै वडा नं ५ बुडाथोकस्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा अन्दाजी ३०/३५ वर्षका पुरूषको शव भेटिएको उहाँले बताउनुभयो । त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०/२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२/१३ का पुरूषको शव फेला परेको भण्डारी बताउनुभयो ।

शवको सनाखत हुन सकेको छैन । प्रहरी भखरै घटनास्थलमा पुगेको र बेपत्ताहरुको खोजी भैरहेकाले सङ्ख्या बढ्न सक्ने भण्डारीले बताउनुभयो । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल पुग्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *