Main News

कोरोना परीक्षणमा केन्द्रीय प्रयोगशालाकै बदमासी, डेढ सयको परीक्षण नै नगरी रिपोर्ट (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १७ गते २०:४८
कोरोना परीक्षणमा केन्द्रीय प्रयोगशालाकै बदमासी, डेढ सयको परीक्षण नै नगरी रिपोर्ट (भिडियोसहित)

१७ भदौ, २०७७ काठमाडौं । प्रयोगशालाको लापरबाहीका कारण कोरोना परीक्षण नै नगरी रिपोर्ट दिएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १ सय ५० जनाको परीक्षण नै नगरी रिपोर्ट दिएको हो । यसरी गलत रिपोर्ट पाउनेमा काठमाडौंको नागार्जुन नगरपालिकाका वडाध्यक्ष राजेन्द्र बुढाथोकीसमेत छन् ।

गएको शुक्रबार नागार्जुन नगरपालिका क्षेत्रका झण्डै ९‍० जनाको स्वाब संकलन गरिएको थियो । यो टोलीमा मेयरदेखि वडाध्यक्षहरुसम्मको स्वाब लिइएको थियो । र, भदौ १४ गते दिनको १ बजे सबैको मोवाइलमा म्यासेज गयो ।

त्यसमा सबैको रिपोर्ट नेगेटिभ थियो । कोरोनाको त्रासका बीच नेगेटिभ आएको रिपोर्टले केही राहत मिलेको थियो । र, रिपोर्ट नेगेटिभ आउनसाथ जनप्रतिनिधि कोरोना रोकथामका विभिन्न कामदेखि विकास निर्माणका काममा सहभागी पनि भए ।

मंगलबार रक्तदान कार्यक्रम नै थियो । कार्यक्रममा मेयर उपमेयरदेखि वडाध्यक्षसम्म गरेर झण्डै ३ सय जनाको उपस्थिति थियो । र १८० जनाले रक्तदान पनि गरे । सामाजिक दूरीको नियम पालना गर्दै गरिएको कार्यक्रम सफल भएकोमा सबैजना खुशी थिए ।

तर त्यो खुशी धेरै बेर टिकेन । मंगलबार साँझ ६ बजे नागार्जुन वडा नं ६ का वडाध्यक्ष राजेन्द्र बुढाथोकीको मोवाइलमा कोरोना पोजिटिभको म्यासेज आयो । र, त्यसले नागार्जुन नगरपालिकालाई त्रासमय बनायो । नेगेटिभ रिपोर्ट आयो भनेर सयौं मानिसको सम्पर्कमा गएका वडाध्यक्षको रिपोर्ट पोजिटिभ आएपछि यतिबेला त्रासको स्थिति बनेको छ । जनता त्रसित त छँदैछन्, त्यो भन्दा बढी रुस्ट छन् ।

वडाध्यक्षकै हकमा यस्तो भएपछि नगरपालिका पनि चिन्तित छ । यसप्रकारका लापरवाहीले आफ्ना जनताको जीवन धरापमा पारेको उसको बुझाइ छ ।

तर गलत रिपोर्ट गएको वडाध्यक्षको हकमा मात्र थिएन । वडाध्यक्षसँगै १ सय ५० जनाको स्वाब नै परिक्षण नगरी उक्त दिन रिपोर्ट पठाइएको थियो । र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गम्भीर त्रुटि भएको स्वीकारेको छ ।

प्राविधिक कारणले गल्ति भएको तर पछि गलत एसएमएस आयो भनेर सम्बन्धित व्यक्तिलाई जानकारी गराएको प्रयोगशाला प्रमुख रूणा झाले बताउनुभयो ।

तर, मानिसको जीवन नै जोखिममा पार्ने यस्ता लापरवाही हुनु नहुने सरोकारवाला निकायको तर्क छ । र यो घट्नाको गम्भीर छानविन हुने उनीहरुको प्रतिबद्धता छ ।

त्यसो त प्रयोगशालाले प्राविधिक त्रुटि भएको खबर सम्बन्धित व्यक्तिलाई पठाएको दाबी गरेको छ । तर, वडाध्यक्ष लगायत कसैलाई पनि कतैबाट खबर गएन । किनकी नागार्जुनका मात्र ४ जनाको हकमा गलत रिपोर्ट गएको थियो ।

वडाध्यक्ष बुढाथोकिमा हालसम्म कुनै स्वास्थ्य समस्या छैन । तर मेयर लगायत केहीमा भने लक्षण देखिन थालेको छ । र यही कुराले वडाध्यक्ष बुढाथोकिलाई पिरोलेको छ ।

हुन त प्राविधिक त्रुटि नहुने होइनन् । तर कोरोना जस्तो गम्भीर विषयमा भएको त्रुटिले मानिसको जीवनमाथि नै ठूलो खेलवाड गरेको छ । त्यसैले प्राविधिक त्रुटिको बहानामा यस्ता लापरवाही नहुन् भन्नेमा सरोकारवाला पक्ष संवेदनशील हुनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *