राजनीति

नेकपा विवादः कार्यदल बनेपछि माधव नेपाल समूहमा असन्तुष्टि (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ९ गते २०:१४
नेकपा विवादः कार्यदल बनेपछि माधव नेपाल समूहमा असन्तुष्टि (भिडियोसहित)

९ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको विवाद समाधानको लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट देखिन्छ । प्रतिवेदनमा दुइ अध्यक्ष ओली र प्रचण्डको व्यवस्थापनमा जोड दिइएको तर विधि पद्धति स्थापित गर्न ध्यान नदिइएको नेपाल समुहको बुझाइ छ ।

प्रतिवेदनमा आफूहरुले उठाउँदै आएको विषय नपरेपछि नेपाल समुहले कार्यदलमा सहभागी आफ्नै पक्षका नेताको नियतमाथि पनि शंका गरिरहेको छ ।

महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा वरिष्ठ नेता माधवकुमार नेपाल समुहले चित्त बुझाएको छैन । कार्यदल गठन प्रतिक्रियालाई लिएर नै असन्तुष्टी जनाएको नेपाल पक्षले पार्टी कमिटीको क्षमता माथि नै प्रश्न उठ्नेगरी प्रतिवेदन आएको बताएको छ ।

आफ्नै समुहका नेता समेत सहभागी कार्यदलले ओली र प्रचण्डको मात्र व्यवस्थापन गरेको तर मुल मुद्दामा नपसेको उसको आरोप छ । एक व्यक्ति एक मुख्य जिम्मेवारीबारे कार्यदलले ठोस रुपमा सुझाव नदिएको र हल्का ढंगले लिएको नेपाल समुहको बुझाइ छ ।

यद्यपि असन्तुष्टिबारे नेपाल समुहका नेताले औपचारिक प्रतिक्रिया दिन भने हिच्किचाइरहेका छन् । यसको कारण हो कार्यदलमा आफु पक्षधर नेताको पनि सहभागिता । अनौपचारिक कुराकानीमा नेपाल पक्षका नेताहरु कार्यदलको प्रतिवेदनलाई लिएर चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

अध्यक्ष ओली र प्रचण्डले गठन गरेको कार्यदलमा नेपाल समुहका तीन वटै समुहबाट दुईरदुई जना नेता सहभागी थिए । आफ्नै समुहका नेता कतै प्रलोभनमा परे कि भन्ने नेपाल पक्षधर कतिपय नेताको आशंका छ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल बाहेक कार्यदलका सदस्य मन्त्री बन्ने चर्चा चलिरहेको छ र नेपाल समुहका नेताले यसैलाई शंकाको दृष्टिले हेरेका छन् ।

प्रधानमन्त्रीलाई खुशी बनाएर मन्त्री बन्न कार्यदलमा फितलो गरी प्रस्तुत भएको कतिपयको आरोप पनि छ ।

२०७५ भदौमा बसेको सचिवालय बैठकले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ र प्रदेश पाँचका मुख्यमन्त्री शङ्कर पोखरेललाई प्रदेश इन्चार्जको समेत जिम्मेवारी दिएपछि नेपाल समुहले कडा आपत्ति जनाएको थियो । उसले त्यसयता एक व्यक्ति एक पदको कुरा उठाइरहेको छ । त्यसो त वरिष्ठ नेता नेपालले २०७५ भदौ ३ गते सचिवालय बैठकमा सात बुँदे नोट अफ डिसेन्ट नै लेख्नुभएको थियो ।

विधानसँग जोडिएको मुख्य कुरालाई छायाँमा पारेर अन्य विषयमाथि सुझाव दिने कार्यदलको प्रतिवेदनको अर्थ नहुने यो समुहका एक नेताले बताए । प्रतिवेदनमा केन्द्रीय कमिटीको कार्यविभाजन पुनरावलोकन गर्ने भनिएको छ । यी लगायत केही विषय भने
आफ्नो माग अनुसार आएको नेपाल पक्षका नेताले बताएका छन् ।

प्रतिवेदनमाथि प्रश्न उठाएको नेपाल समुहले एक व्यक्ति जिम्मेवारीको विषयलाई फेरि सचिवालय र स्थायी कमिटी बैठकमा लैजाने संभावना छ । विधि विधानअनुसार पार्टी नचलेको भन्दै दुई महिना यता नेकपाको शीर्ष नेतृत्वबीच अन्तरसंघर्ष चल्दै आएको छ ।

कार्यदलले बुझाएको प्रतिवेदनमा दुई अध्यक्षको कार्यविभाजनलाई केन्द्रमा राखेर सुझाव दिने बाहेक केही नभएको नेपाल पक्षको ठहर छ । पार्टीमा आफ्नो स्पेस खोजेको नेपाल समुहले अब लेनदेनमा सहमति गरेर अघि बढ्छ कि थप अन्तरसंघर्ष चलाउँछ भन्ने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्