डोल्पामा विषालु च्याउ खाँदा चार जना सिकिस्त बिरामी

८ भदौ, २०७७, सुर्खेत । अघिल्लो महिना जाजरकोटमा ५ जनाको ज्यान लिएको विषालु च्याउले डोल्पामा फेरि ४ जनालाई सिकिस्त बनाएको छ । उनीहरुलाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ ।
डोल्पाको ठूलीभेरी नगरपालिकामा विषालु च्याउ खाएर ४ जना बिरामी भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार स्थानीय माछल पाटनमा गोठाला गएका सत्यबहादुर शाही, कमलजंग शाही, उत्तम शाही र सूर्यबहादुर शाहीले आइतबार साँझ च्याउ खाएका थिए ।
सोमबार बिहान ७ बजे मात्र बिरामी भएको खबर आएको उहाँले जानकारी दिनुभयो । । ‘बिरामी भएको खबर पाउने बित्तिकै हामीले प्रहरीको टोली त्यतातिर पठायौं, नगरपालिकाको आर्थिक सहयोगमा काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर मगाइएको छ ।’
उहाँले चारैजनाको अवस्था सिकिस्त रहेको बताउनुभयो पाटनबाट दुनै ल्याउन ६–७ घण्टा लाग्ने भएकाले हेलिकोप्टर मगाइएको उहाँको भनाइ छ ।
प्रतिक्रिया