आर्थिक

बैंकको मुनाफामा कोरोनाको प्रभाव, कुन बैंकले कति कमाए ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३० गते १७:४९
बैंकको मुनाफामा कोरोनाको प्रभाव, कुन बैंकले कति कमाए ? (भिडियोसहित)

३० साउन, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गत आर्थिक वर्षमा अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफा प्रभावित भएको छ । आज वित्तीय विवरण गरेका बाणिज्य बैंकमध्ये अधिकांशको सूचक प्रभावित भएको देखिन्छ ।

कोरोना कहरका बिचमा पनि एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा नाफा बढाएको छ । एनआईसी एशियाको नाफा ३ दशमलव २४ प्रतिशत बढेर ३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । खुद नाफा बढे पनि एनआईसीले शेयर धनीलाई वितरण गर्न मिल्ने नाफा भने ३३ प्रतिशतभन्दा धेरैले घटेर १ अर्ब ४४ करोड रुपैयाँमा छ ।

गत आर्थिक वर्षमा जनता बैंकसँग बिग मर्ज गरेको ग्लोबल आइएमई बैंकको नाफा ११ दशमलव ८० प्रतिशत बढेको छ । उसको खुद नाफा ३ अर्ब ८ करोड रुपैयाँ छ । खुद नाफा बढे पनि उसको शेयर धनीलाई वितरण गर्न मिल्ने नाफा २८ दशमलव ६८ प्रतिशतले घटेर १ अर्ब ७३ करोड मात्र छ ।

गत आर्थिक वर्षमा प्राइम कमर्सियल बैंकको नाफा ४ दशमलव २७ प्रतिशत बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियो । पोहोर भदौमा कन्काई विकास बैंक र फागुनमा कैलाश विकास बैंकलाई गाभेको प्राइम बैंकका अधिकांश सूचक सकरात्मक छन् ।

सेन्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९० करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ३४ प्रतिशत धेरै हो ।

एनएमबी बैंकको नाफा २ करोड रुपैयाँ बढेको छ । उसले गत आर्थिक वर्षमा २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसहित अरु बैंकले नाफा घटेको वित्तिय विवरण सार्वजनिक गरेका छन् । वाणिज्य बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५९ करोड कम हो ।

विदेशी लगानीको स्टान्डर्ड चार्टर बैंकको नाफा कोरोनाका कारण साढे १८ प्रतिशत घटेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

यसैगरी एभरेष्ट बैंकको खुद नाफा १८ दशमलव १४ प्रतिशतले घटेर २ अर्ब ५० करोडमा सीमित भएको छ । अघिल्लो वर्ष यसले ३ अर्ब ५ करोड ४१ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको अधिकांश सूचक नकरात्मक बनेको छ । उसको खुद नाफा २२ दशमलव ६४ प्रतिशतले घटेर २ अर्ब ५७ रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको थियो ।

नेपाल एसबीआईको नाफा ३३ दशमलव ३३ प्रतिशतले घटेको छ । उसले १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २१ दशमलव ६२ प्रतिशत थोरै हो ।

सबैभन्दा थोरै नाफा कमाउँदै आएको सिभिल बैंकको नाफा गत आर्थिक वर्षमा ३५ दशमलव ३९ प्रतिशतले घटेको छ । उसको खुद नाफा ४५ करोड ७० लाख रुपैयाँ मात्र छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *