Main News

आइसोलेशन सेन्टरः दावी अनुसार गरेन सरकारले काम (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २६ गते १९:४७
आइसोलेशन सेन्टरः दावी अनुसार गरेन सरकारले काम (भिडियोसहित)

२६ साउन, २०७७ काठमाडौं । अहिलेकै गतिमा कोरोना संक्रमण बढ्दै गए र कोरोनाले असर गरेका संक्रमित थपिँदै गएमा उपचार गर्न नसक्ने भनेर सरकारले चेतावनी दिँदै आएको छ ।

अस्पतालमा शैया कम रहेको बेला अस्थायी शैया र आइसोलेशन बनाउनु पर्ने हो । तर त्यसतर्फ सरकारको खासै ध्यान गएको पाइँदैन । नयाँ आइसोलसन सेन्टरका लागि काठमाडौंमा कसरी काम भइरहेको छ त ?

सरकारी अस्पताल, इच्छुक निजी अस्पताल, तालिम केन्द्रमा आइसोलेसन सेन्टर बनाउने तयारी गरिरहेको सरकारले बताउँदै आएको छ ।

सरकारले राष्ट्रिय आयूर्वेद अनुसन्धान तथा तालिम केन्द्र , जनमैत्री अस्पताल, खरिपाटीको क्वारन्टिन, मनमोहन मेमेरियल अस्पताल लगायतमा आइसोलेसन सेन्टर बनाउने योजना रहेको र काम भइरहेको सरकारी अधिकारीले बताउँदै आएका छन् । तर कसरी तयारी भैरहेको छ भन्ने बुझ्न सकिदैन । मनमोहन मेमोरियल अस्पतालमा पुग्दा त्यहाँ कुनै पनि तयारी देखिदैन ।

यस्तै सरकारले तोकेको अर्को ठाउँ हो जनमैत्री अस्पताल । अहिले बन्द रहेको यो अस्पतालमा पर्याप्त कोठा र बेड छन् । तर यहाँ पनि कुनै तयारी छैन ।

जनमैत्री र मनमोहन मेमोरियल अस्पताल मात्र हैन । सरकारको सूचिमा आइसोलेशन सेन्टर बनाउने भनेर सूचिकृत अधिकांश ठाउँको स्थिति यस्तै छ ।

यसअघि क्वारन्टिनस्थल रहेका सबै ठाउँ आइसोलेशन वार्ड बनाउन उपयुक्त छैनन् । आइसोलेशसन वार्डमा संक्रमितलाई नै राखिने भएकाले यस्ता ठाउँमा स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार पनि हुनुपर्छ ।

देशमा कोरोना कहर शुरु हुनै लाग्दा विज्ञले क्वारन्टिनस्थल सँगै आइसोलेशन वार्ड, आईसीयू तथा भेन्टिलेटर थप्न सुझाव दिएका थिए । तर सरकारले विज्ञको सुझाव एउटा कानले सुन्ने र अर्को कानले उडाउने गर्‍यो ।

परिणाम यातनागृहजस्ता क्वारन्टिनमा बसेर केहीको ज्यानै गयो भने धेरै विरामी परे । आइसोलेशन वार्डका साथै आइसियू र भेन्टिलेटर थप्न सरकारले खासै चासो दिएन ।

अहिले कोरोना संक्रमणबाट विरामी नै परेका थपिँदै गएपछि सरकारलाई बल्ल आइसोलेशन वार्ड चाहिने रहेछ भन्ने ज्ञान पसेको छ । तर आइसोलेशन वार्ड बनाउन भने अझै तातेको छैन सरकार । यसले सरकारको दावी र तयारीको पोल खोलिदिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *