Main News

सामूहिक आवास कार्यक्रममा अनियमितता, पदाधिकारीले मनलाग्दी गरेको आरोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २४ गते २०:२४
सामूहिक आवास कार्यक्रममा अनियमितता, पदाधिकारीले मनलाग्दी गरेको आरोप (भिडियोसहित)

२४ साउन, २०७७ बर्दिया । सामुहिक आवास कार्यक्रम अन्तर्गत बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर २ मा विपन्न सोनाहा समुदायका लागि निर्माण गरिएका घर बनाउँदा अनियमितता भएको पाइएको छ । सामुहिक आवास कार्यक्रमका लागि गठित उपभोक्ता समितिले घर निर्माण गर्दा इट्टा, सिमेन्ट लगायतका सामग्री कमसल प्रयोग गरेको भेटिएको छ ।

सामुहिक आवास कार्यक्रम अन्तर्गत बर्दियाका गेरुवा गाउँपालिका वडा नम्बर २ स्थित विपन्न सोनाहा समुदायका लागि घर निर्माण गरियो । उपभोक्ता समितिले घर निर्माण गर्दा घाटा लागेको भन्दै प्रतिघर १० हजार रुपैँया उठाउन भनेपछि लाभग्राहीले अनियमितताको विषय उठाउन थाले । उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षले कार्यसमितिका अन्य सदस्यलाई समेत जानकारी नै नदिई एकलौटी रुपमा काम गरेको आरोप लागेको छ ।

उपभोक्ता समितिमा लाभग्राही मध्येबाटै पदाधिकारी चुनिएका छन् । घरको अवस्थाबाटै समितिका पदाधिकारीले अनियमितता गरेको सहजै देखिन्छ ।

समितिका पदाधिकारीका घरको जग अरुका भन्दा केही अग्लो, व्यवस्थित सिढी र आकर्षक रंगरोगन लगाएको देखिन्छ । घरको डिजाइन तथा स्टिमेट, निर्माण सामग्रीको मापदण्ड लगायतका विषयमा घरधनी एवं लाभग्राहीलाई जानकारी नदिइनुले पनि अनियमितता भएको आशंकालाई बल पुगेको छ ।

तराई मधेश समृद्ध कार्यक्रम अन्तर्गत समपुरक अनुदान, गेरुवा गाउँपालिका र उपभोक्ता समितिको गरी करिव १ करोड लागतमा १९ वटा घर निर्माण भएका छन् । निर्माण शुरु गर्दा लकडाउनका कारण निर्माण सामग्रीको मूल्य बढेकाले केही घरमा १ नम्बर
कमसल खालको इट्टा र ओपिसी सिमेन्टको ठाउँमा पिपिसी सिमेन्ट प्रयोग गरिएको उपभोक्ता समितिका अध्यक्षको भनाइ छ ।

सामूहिक आवास कार्यक्रम अन्तर्गत लाभग्राही नै उपभोक्ता समितिमा रहेर काम गरेको र इस्टिमेट अनुसार काम भएको मूल्यांकनको आधारमा गाउँपालिकाले भुक्तानी समेत दिइसकेको छ ।

लाभग्राही नै उपभोक्ता समितिमा रहेर काम गर्दा समेत मापदण्ड बमोजिमका गुणस्तरीय घर बन्न नसक्नु दुखद पक्ष हो । अझ पदाधिकारी र अन्यका घर फरक( फरक बनाइनुले आफ्नै हात जगन्नाथ भन्ने उखानलाई चरितार्थ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *