Main News

निजी तथा सार्वजनिक यातायातमा फेरि जोरविजोर प्रणाली लागू, राति हिँडडुलमा रोक

हिमालय टिभी
२०७७ साउन २२ गते ८:०८
निजी तथा सार्वजनिक यातायातमा फेरि जोरविजोर प्रणाली लागू, राति हिँडडुलमा रोक

२२ साउन, २०७७ काडमाढौं । सरकारले आजदेखि फेरि निजी तथा सार्वजनिक सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै जोर विजोर प्रणाली लागू गरिएको हो । काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधनमा जोर विजोर प्रणाली लागू भएको छ ।

सरकारले असार २६ देखि निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो ।

यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए ।

यस्तै राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर आजदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन । यसैगरी कोरोना संक्रमण बढेका १५ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला तथा नगरमा कोरोना संक्रमित धपिँदै गएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले पूरै जिल्ला तथा संक्रमण फैलिएको ठाउँमा निषेधाज्ञा जारी गरेको हो । सुनसरी, सर्लाही, सप्तरी, बारा, पर्सा, रौतहट, स्याङ्जा र बाँके जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

यसैबीच सरकारले राति ९ बजेदेखि ५ बजेसम्म हिँड्न नपाइने नियम लागू गरेको छ। यो नियम पनि आजदेखि लागु हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *