इनफ इज इनफ अभियानको धर्नामा आज पनि प्रहरी धरपकड

१७ साउन, २०७७ काठमाडौं । आफूहरुसँगको सम्झौता कार्यान्वयनको माग गर्दै इनफ इज इनफ अभियानले गरेको धर्नामा प्रहरीले आज पनि धरपकड गरेको छ ।
काठमाडौंको भाटभटेनीमा हुन लागेको धर्नामा सहभागी हुन जाँदै गरेका युवालाई मात्र नभइ प्रहरीले भाटभटेनी, नक्साल, हाडीगाउँ आसपासमा हिँड्ने पैदल यात्रीलाई समेत पक्रेको छ ।
यसअघि प्रहरीले हिजो पनि बालुवाटार चोकमा भएको प्रदर्शनमा यस्तै हस्तक्षेप गरेको थियो । प्रहरीले युवाहरुलाई भेला हुनै नदिने उद्देश्यले बाटोबाटै समाउन थालेको छ ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गरिरहेको काम कारबाही सन्तोषजनक नभएको भन्दै प्रदर्शन गर्दै आएको इनफ इज इनफ अभियान र सरकारबीच असार २२ गते १२ बुँदे सहमति भएको थियो ।
तर त्यो सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै युवाले विरोध जनाउँदै आएका छन् । कोरोना भाइरस रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको अभियानको आरोप छ ।
उनीहरुले विदेशबाट आएका व्यक्तिहरुलाई पाँच दिन क्वारन्टिनमा राखे पछि मात्रै परीक्षण गरेर उनीहरुको इच्छा अनुसार होम क्वारन्टिन राख्ने, आरडिटी परीक्षण रोकेर पिसिआर परीक्षण बढाउने, क्वारन्टिन र होल्डिङ्ग सेन्टर व्यवस्थित बनाउने लगायतका माग राख्दै आएका छन् ।
तर सरकारले उनीहरुको माग कार्यान्वयन गर्नुको सट्टा उनीहरुलाई पक्राउ गर्दै आएको छ ।
प्रतिक्रिया