सुदूरपश्चिम सरकारका विभिन्न मन्त्रालयमा शंकास्पद वस्तु फेला
६ साउन, २०७७ सुर्खेत । सुदुरपश्चिम सरकारका चार वटा मन्त्रालय नजिकै फेला परेका बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय जाने बाटोको अगाडी बम फेला परेको थियो ।
धनगढीस्थित मुख्य सडक नजिकै रहेका दुवै मन्त्रालय जाने बाटोमा कुकर बम जस्तै देखिने बस्तु राखिएको थियो । यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालय रहेको पार्कमोडमा पनि बम फेला परेको थियो ।
त्यसैगरी सामाजिक मन्त्रालय नजिकै पनि पनि बम फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बम जस्तै देखिने शंकास्पद बस्तुहरु सुदुरपश्चिम सरकारका चार मन्त्रालय नजिकै फेला परेको र सेनाको डिस्फोजल टोलीले निश्क्रिय पारेको जानकारी दिनुभयो ।
उता कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो ।
घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्ने गाडी पार्किङ गरिराखिएको अवस्थामा आगजनी भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो । आगलागीबाट गाडीको पछाडि पट्टिको भाग जलेको छ । आगलागी कस्ले गर्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
विप्लव नेतृत्वको नेकपाले आज सुदुरपश्चिम बन्दको आह्वान गरेकाले यी घटनामा विप्लव कार्यकर्ताको संलग्नता रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रतिक्रिया