१४ जिल्लाका ११ हजार घरपरिवार विपद्को उच्च जोखिममा, ७ सय घर सार्नुपर्ने अवस्थामा

२९ असार, २०७७ काठमाडौं । सरकारले १४ जिल्लाका ११ हजार घर परिवार उच्च जोखिममा रहेको जानकारी दिएको छ । ती मध्ये सात सय ४ घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा सार्नु पर्ने अवस्था छ ।
संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुन सुरु भएसँगै पहिरोको उच्च जोखिम रहेको जानकारी दिनुभयो ।
सिन्धुपाल्चोक, गोरखा, रसुवा रहेको पोखरेलले पहिरोको उच्च जोखिममा रहेको जानकारी दिनुभयो । पोखरेलका अनुसार जोखिममा रहेका कतिपय परिवार र गाउँले थातथलो छोड्न नमान्दा समस्या उत्पन्न भएको छ ।
त्यस्तै, सीमामा भारतले बनाएका तटबन्धका कारण बाढीको प्रदेश २ उच्च जोखिममा रहेको पोखरेलले जानकारी दिनुभयो । रौतहट बाढी र डुबानको उच्च जोखिमको पहिलो नम्बरमा छ । बाढी र पहिरोको जोखिम बढ्नुको कारण कृत्रिम रहेको सरकारको भनाई छ ।
सानो घर बनाउँदा नक्सा पास गर्नुपर्ने भएपनि ठूला सडक निर्माण गर्दा नक्सा पास गर्न नपर्ने भएकोले बाढी र पहिरोको जोखिम कृत्रिम कारणले बढेको छ ।
बाढी र पहिरोमा परेर आज बिहानसम्म ८५ जनाको मृत्यु भइसकेको गृहसचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो । नेपालमा मनसुन सुरु भएको पहिलो ३० दिनमा उच्च जोखिम हुँदै गरेको सरकारी अध्ययनले देखाएको छ ।
प्रतिक्रिया