हिमालयन एयरलाइन्स उद्धार उडान तालिका सार्वजनिक

१७ असार, २०७७ काठमाडौं । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आजदेखि हुने चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको छ।
आजदेखि जुलाई १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले जनाएको छ।
कोरोना महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरुप उडान तालिका बनाइएको कम्पनीले उल्लेख गरेको छ।
एयरलाइन्सले आज २ तारिखमा माल्दिभ्सको मालेमा चार्टर्ड उडान गर्नेछ। जुलाई २, ४, ६, ८ र १० तारिखमा यूएईको अबुधाबी उडान गर्ने कार्यतालिका छ। जुलाई ५, ६, ९ र १० तारिखमा साउदी अरेबियाको दमामा उडान गर्नेछ।
त्यस्तै जुलाई २, ५ र ९ तारिखमा कुवेत, जुलाई ४ र ७ मा कतारको दोहा, जुलाई ५ र ७ मा मलेसियाको क्वालालम्पुर र जुलाई ८ मा चीनमा चार्टर्ड उडान गर्ने जनाएको छ।
यी उडानमा आउने यात्रुले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ रहेको प्रमाण बुकिङको समयमा अनिवार्य पेश गर्न आग्रह गरेको छ।
प्रतिक्रिया