बिशेष

गठबन्धन टुटाउने रणनीतिमा रहेका ओलीले किन गरे आन्दोलनको उद्घोष ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० माघ ५ गते १८:०६
गठबन्धन टुटाउने रणनीतिमा रहेका ओलीले किन गरे आन्दोलनको उद्घोष ? (भिडियो रिपोर्टसहित)

५ माघ २०८० काठमाडौं । राष्ट्रियसभा निर्वाचनमार्फत् सत्ता गठबन्धन टुटाउने रणनीति असफल भएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय आन्दोलनको उद्घोष गर्न थाल्नुभएको छ ।

सत्ता गठबन्धन टुक्रयाउने रणनीतिमा लगातार असफलता मात्रै हात परेसँगै ओलीले नेतृत्वले फुक्ने सिट्ठीको इशारामा सडकमा आउन कार्यकर्तालाई निर्देशन नै दिइरहनुभएको छ । उहाँको यो संकेत सत्ता गठबन्धनसँग बार्गेनिङकै लागि हो वा गठबन्धन भत्काउन, उहाँले फुक्ने सिट्ठीको ओजनले संकेत गर्ला ।

मंसिर ६ गते बसेको केन्द्रीय कमिटी बैठकमा पहिलो पटक सरकारविरोधी सडक आन्दोलनको संकेत गर्नुभएका ओली ५८ औं दिनमा फेरि बोल्नुभयो । माघ ३ गते ६ केन्द्रीय सदस्यको सपथ समारोहमा सडकमा जाने संकेत गर्नुभएका ओलीले ४ गते त कार्यकर्तालाई सिट्ठीको इशारा कुर्न निर्देशन नै दिनुभयो । प्रचण्ड नेतृत्वको वर्तमान सरकारका कारण देश बर्बादीको बाटोमा पुगेको भन्दै ओलीले देश जोगाउनलाई पार्टीले सिठी बजाउँदा आन्दोलनका लागि तम्तयार हुन कार्यकर्तालाई निर्देशन गर्नुभयो ।

त्यसो त ओलीले मिसन ग्रासरुट र झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाड समृद्धि यात्रा मार्फत् कार्यकर्ताको मनस्थिति बुझिसक्नुभएको छ । मधेसको सिरहास्थित सर्रे अम्बास बैठकबाटै आन्दोलनको भावभंगी प्रदर्शित गर्नुभएका ओलीको पछिल्ला अभिव्यक्ति एमालेविरुद्धको घेराबन्दी चिर्ने रणनीतिक योजना पनि हुनसक्छ । तैपनि विभिन्न आरोपमा समातिएका आफ्ना नेता कार्यकर्ता जोगाउन सत्ता गठबन्धनका दुई शीर्ष नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग लगातार छलफल गरेको आरोपको ओलीले सार्वजनिक जवाफ दिनुभएको छैन ।

पुस १८ गते राति बालकोटमा माओवादी वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग अन्तरंग कुराकानीपछि २० गते रास्वपा सभापतिसँग ओलीको लामै छलफल चल्यो । त्यहीबेला राष्ट्रियसभामा ६ सिट लिने र टिआरसीमा साथ दिनेबारे बालुवाटारमा तीन चरणको छलफल भइसकेको थियो । तर गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ठाडै अस्विकार गर्दा हुनै लागेको सहमति पनि भाँडियो । पार्टीमाथि चौतर्फी घेराबन्दी भएको बताउँदै आउनु भएका ओलीले यतिबेला जसरी पनि सरकार ढाल्ने हो भन्ने ठाउँमा कसरी पुग्नुभयो त ?

–२०७९ पुस १० मा बनेको सत्ता गठबन्धन फागुनमा भंग, पार्टी प्रतिपक्षमा
–संघसहित सातै प्रदेश सरकारबाट बहिर्गमन
–राष्ट्रियसभामा २०८२ पछि एक सिट मात्रै हुने जोखिम
–विभिन्न प्रकरणमा सरकारबाट एमालेका नेतामाथि छानबिनको जोखिम
–एकीकृत समाजवादीका कारण प्रचण्ड र देउवा आफुसँग टाढिएको निश्कर्ष
–राजकीय र राजनीतिक नियुक्तिबाट बञ्चित हुँदा कार्यकर्तामा निराशा
–सत्ता गठबन्धनसँग लाभको पदमा बार्गेनिङ गरेको आरोपबाट मुक्तिको योजना
–प्रतिपक्षी दल सरकारमाथि नरम भएको आरोपको जवाफ दिनुपर्ने बाध्यता

त्यसो त ओलीले आन्दोलनको रणनीतिक चाल भने चालिनै रहनुभएको छ । गत मंसिर ७ मा युवासंघले काठमाडौंमा प्रदर्शन गर्यो । मंसिर १४ देखि मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान पनि भइसकेको छ ।

राष्ट्रियसभामा गठबन्धन भत्काउने रणनीति अन्तरगत प्रचण्डसँग बालुवाटारमा तीन पटक र आफ्नै निवासमा माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र रास्वपा सभापतिसँग भेट गर्नुभएका ओली माओवादीका उपमहासचिव वर्षमान पुनसँग पनि निरन्तर संवादमा हुनुहुन्छ । पुन वाम सहकार्यमा जोड दिने नेता हुनुहुन्छ । ओलीको पछिल्लो छटपटाहटमा मुलुकको चिन्ता देखिए पनि चासो आन्तरिक नै हो ।

बेला बेला आफुले चाहे एक हप्तामै गठबन्धन गर्ल्यामगुर्लुम पार्ने धम्की दिँदै आउनुभएका ओली पछिल्लो तरलतामा खेल्ने मुडमा पुग्नुभएको पक्का हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्