बिशेष

राष्ट्रिय सभा निर्वाचन : गठबन्धन कायम रहे एमालेलाई एकै सिट जित्न पनि कठिन (भिडियो रिपोर्टसहित)

२०८० मंसिर १८ गते १४:०२
राष्ट्रिय सभा निर्वाचन : गठबन्धन कायम रहे एमालेलाई एकै सिट जित्न पनि कठिन (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०८० काठमाडौं । राजनीतिक दलहरु माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा जुटेका छन् । फागुन २० गते राष्ट्रियसभाका अध्यक्षसहित २० जनाको ६ वर्षे कार्यकाल सकिँदैछ ।

एमालेबाट ९ जनाको पदावधि सकिँदा अहिलेकै गठबन्धनबमोजिम नै दलहरु चुनावमा गए एमालेले सबै सिट गुमाउने देखिएको छ । केन्द्रमा जस्तै सातवटै प्रदेशमा अहिले कांग्रेस(माओवादी गठबन्धनको सरकार छ, स्थानीय तहमा पनि सत्ता गठबन्धनकै दलहरु हाबी भएकाले उनीहरु मिलेर चुनाव लडे राष्ट्रियसभा निर्वाचन एमालेका लागि प्रतिकुल हुने देखिन्छ ।

नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि राष्ट्रिय सभाको चुनाव पहिलो पटक २०७४ सालमा भएको थियो । पहिलो पटक निर्वाचित भएकाहरुलाई गोलाप्रथाद्वारा दुई वर्ष, चार वर्ष र ६ वर्ष कार्यकाल तय गरिएको थियो । त्यसअनुसार दुई र चार वर्षे कार्यकाल पाएकाहरु विदा भएर नयाँ आइसके । अब ६ वर्षे कार्यकालको गोला तानेकाहरु फागुन २० गतेबाट बिदा हुँदै छन् ।

को–को हुँदैछन् बिदा ?
नेकपा एमाले ९ जना
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना
प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ
ईन्दु कडरिया
कुमार दसौंदी
दीपा गुरुङ
दिलकुमारी रावल थापा (पार्वती)
नरपति लुहार
रामचन्द्र राई
मनोनित विमला राई पौड्याल

नेपाली कांग्रेस ४ जना
संसदीय दलका नेता रमेशजंग रायमाझी
प्रमुख सचेतक अनिता देवकोटा
प्रकाश पन्थ
जितेन्द्रनारायण देव

माओवादी ३ जना
विना पोखरेल
महेशकुमार महरा
हरिराम चौधरी

नेकपा एकीकृत समाजवादी २ जना
नन्दा चपाईं
सिंहबहादुर विश्वकर्मा

जसपा र स्वतन्त्र १–१
प्रमिलाकुमारी यादव
खिमलाल देवकोटा

एमालेकै सबैभन्दा बढी सदस्य बाहिरिँदै गर्दा एमाले यो चुनावमा पराजित हुने सम्भावना बढेको छ । केन्द्रमा जस्तै सातवटै प्रदेशमा अहिले कांग्रेस(माओवादी गठबन्धनको सरकार छ । स्थानीय तहमा पनि सत्ता गठबन्धनकै दलहरु हाबी भएकाले उनीहरु मिलेर चुनाव लडे राष्ट्रियसभा निर्वाचन एमालेका लागि प्रतिकुल हुने देखिन्छ ।

कोशीमा एमाले ठूलो दल भएपनि गठबन्धन हुँदा मतभार ५९६२ सम्म हुनसक्छ । राप्रपा र एमाले मिल्दा ४ हजार ६ सय २४ मात्र हुन्छ । हुन त राष्ट्रियसभामा ९ जना घटेसँगै एमालेलाई घाटा पुगेको छ । एमालेको संवैधानिक परिषदमा पनि एक सिट घटेको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रियसभामा गठबन्धन नगरी अघि बढ्न सुझाएपनि सत्तारुढ दलको मनस्थिति गठबन्धन गरेर अघि बढ्ने हुँदा राष्ट्रियसभामा अब गठबन्धन हावी हुने निश्चित छ ।

राष्ट्रियसभा निर्वाचन ऐनमा पदावधि सकिनु ३५ दिनअघि नै सदस्यहरुको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । माघ ११ गते हुने निर्वाचनबाट अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट ३, दलित २, महिला ७ र अन्य ७ जना निर्वाचित हुनेछन् ।

यीमध्ये कोशी, मधेश र लुम्बिनी प्रदेशबाट २–२ जना, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३(३ जना र बागमतीबाट ४ जना निर्वाचित हुनेछन् । निर्वाचनमा ५५० प्रदेशसभा सदस्य र ७ सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरी १५ सय ६ जना मतदाताले मतदान गर्नेछन् । यसपटक प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रतिनिधिको मतभार १९ कायम गरिएको छ ।

गठबन्धन कायमै रहे एमालेले राष्ट्रियसभाको आगामी चुनावमा एक सिट पनि जित्ने छैन । राष्ट्रपति चुनावपछि एमालेले सबैभन्दा ठूलो झट्का माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावमा भोग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्