बिशेष

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

हिमालय टिभी
२०८० कार्तिक १२ गते १५:५०
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

१२ कात्तिक २०८० काठमाडौं । चार दिने भ्रमणमा नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले उच्चस्तरीय भेटवार्ता शुरु गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव गुटरेसबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

यसअघि गुटरेसले परराष्ट्रमन्त्री एनपी साउद, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आजै भेट गर्नु हुनेछ ।

भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नु हुनेछ । प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गर्नु हुनेछ ।

भ्रमणका क्रममा उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानु हुनेछ । पर्सी मंगलबार दिउँसो ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सन् २०१७ मा राष्ट्रसंघको महासचिव भएपछि पहिलोपटक नेपाल भ्रमणमा आएका गुटरेसले विश्व शान्ति, जलवायु परिवर्तन, नेपालले राष्ट्रसंघीय शान्ति मिसनमा पुर्याएको योगदानको समीक्षा लगायतका विषयमा छलफल गर्ने बताइएको छ । त्यस्तै गुटेरसले नेपालको संक्रमणकालीन न्यायमा भइरहेको कामबारे पनि चासो राख्ने हुनुभएको छ ।

राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको उच्चस्तरीय भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । यसअघि सन् २००८ मा तत्कालीन महासचिव वान की मुनले नेपालको भ्रमण गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्