खेलकूद

एसियाड क्रिकेटमा नेपाल क्वार्टरफाइनल प्रवेश, माल्दिभ्स १३८ रनले पराजित

हिमालय टिभी
२०८० असोज १४ गते १३:३६
एसियाड क्रिकेटमा नेपाल क्वार्टरफाइनल प्रवेश, माल्दिभ्स १३८ रनले पराजित

१४ असोज २०८० काठमाडौं । नेपालले १९ औं एशियाली खेलकुदको पुरुष क्रिकेटमा आईतवार माल्दिभ्समाथि १३८ रनको फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

पिङफेङस्थित झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा नेपालले कमजोरी टोली माल्दिभ्समाथि जित निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

मंगोलियाबिरुद्धको पहिलो खेलमा कीर्तिमानको वर्षा गर्दै फराकिलो जित निकालेको नेपाल माल्दिभ्सबिरुद्ध पनि रबाफिलो जित निकाल्यो । दुई सय १३ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १९।४ ओभरमा ७५ रनमा अलआउट भयो । नेपालको बलिङमा अविनाश बोहोराले ६ विकेट लिँदै माल्दिभ्सको इनिङ धरासायी बनाए । सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १२ रनको विशाल योगफल खडा गर्‍यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ बनाए । शुरुवातदेखि नै आक्रामण खेलेको नेपालले इनिङको अन्त्यसम्म पनि सोही प्रदर्शन जारी राख्यो ।

कुशल मल्ल २० बल खेल्दै ४७ रनमा नटआउट रहे । उनको इनिङमा समान तीन छक्का र चौका रह्यो । मध्य क्रमका ब्याटर गुल्सन झाले ३५ रन जोड्दा ओपनर कुशल भुर्तेलले पनि ३५ रन नै बनाए । नेपाली टोलीका कप्तान रोहितकुमार पौडलले आफूहरूले यो पिचमा खेलिसकेकाले त्यसको फाइदा पनि हुने र सकरात्मक नतिजा आउने विश्वास व्यक्त गरे ।

माल्दिभ्सबिरुद्ध ६ विकेट लिएका अविनाशले यो पिचमा ब्याटिङ गर्न त्यति सहज नरहेको उल्लेख गर्दै यहाँबाट पदक लिएर फर्किने विश्वास व्यक्त गरे ।

क्वार्टरफाइनलको ‘ड्र’ भोलि हुनेछ । क्वार्टरफाइनलका खेल भने मंगलवार र बुधवार सुुरु हुनेछन् । समूह चरणबाट छनोट भएका तीन टीम र अफगानिस्तानले ड्र तानेर भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमध्ये एक टीमसँग भिडन्त निश्चित गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्