खेलकूद

अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपालले बनायो सातवटा विश्व कीर्तिमान

हिमालय टिभी
२०८० असोज १० गते १३:४१
अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपालले बनायो सातवटा विश्व कीर्तिमान

१० असोज २०८० काठमाडौं । अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा नेपालले सातवटा विश्व कीर्तिमान बनाएको छ ।

एसियाली खेलकुदमा क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मंगोलियामाथि २७३ रनको जित निकाल्दै नेपालले ट्वेन्टी–ट्वेन्टीमा फराकिलो जितमा विश्व कीर्तिमान बनायो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकले टर्कीमाथि निकालेको २५७ रनको जितको रेकर्ड नेपालले तोडेको हो ।

नेपालले कुशल मल्लको कीर्तिमानी शतकको मद्दतले ट्वेन्टी–ट्वेन्टीमा अहिलेसम्मकै ३१४ रनको उच्च रन बनाउन सफल भयो । यसअघि सन् २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८ रन बनाएको थियो ।

एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले मंगोलियाविरुद्ध निर्धारित ओभरमा ३ विकेट गुमाउँदै ३१४ रन बनाएको हो । कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे । विष्फोटक ब्याटिङ गरेका उनले ३४ बलमै शतक प्रहार गर्दै विश्व कीर्तिमान पनि बनाए ।

यसअघि दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरको नाममा ३५ बलमा शतक प्रहार गर्ने कीर्तिमान थियो । मल्ल ५० बल खेल्दै १२ छक्का र ८ चौका प्रहार गर्दै १३७ रनमा अविजित रहे ।

त्यस्तै दीपेन्द्र सिंह ऐरीले पनि कम बलमा अर्धशतक बनाउने रेकर्ड बनाएका छन् । उनले ९ बलमा ८ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् । दीपेन्द्र ५२ रन नटआउट रहे । त्यस्तै कप्तान रोहित पौडेल ६१, कुशल भुर्तेल १९ र आशिफ शेख १६ रन बनाए ।

जवाफी ब्याटिङ गरेको मंगोलिया १३ दशमलव १ ओभरमा ४१ रनमा अलआउट भयो । मंगोलियाका दाभासुरेनले सर्वाधिक १० रन बनाए । मंगोलियाका ५ खेलाडीले खाता समेत खोल्न सकेनन् । नेपालका करण केसी, अविनाश बोहरन र सन्दीप लामिछानेले समान २ विकेट लिए । मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा यो डेब्यू खेल हो ।

यस खेलमा नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरुद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५ दशमलव ७ रह्यो । २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध ३ विकेट गुमाएर २७८ रन बनाउने क्रममा १३ दशमलव ९ को रन रेट कायम गरेको थियो ।

यस्तै नेपालका ब्याटरले एक इनिंग्समा २६ छक्का प्रहार गर्दै सर्वाधिक छक्का प्रहारको विश्व कीर्तिमान पनि बनाए । २०१९ मा मै टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हिर्काएका थिए ।।

उता ऐरीको नाममा हाइएस्ट स्ट्राइक रेटको कीर्तिमान दर्ता भयो । १० बलमा अविजित ५२ रन बनाएका उनको स्ट्राइक रेट ५२० दशमलव ०० रहृयो । यसअघि यो रेकर्ड वेष्ट इण्डिजका ड्वेन स्मिथको नाममा थियो । २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाएका उनको स्ट्राइक रेटमा ४१४ दशमलव २८ थियो ।

समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ । समूह ए, बी र सी का शीर्ष एकएक टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । टेष्ट मान्यता प्राप्त भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्