बिशेष

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीच १३ बुँदे समझदारीपत्रमा हस्ताक्षर

हिमालय टिभी
२०८० असोज ८ गते १३:०९
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीच १३ बुँदे समझदारीपत्रमा हस्ताक्षर

८ असोज २०८० बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १० वटा सम्झौता र ३ वटा समझदारी पत्र आदान प्रदान गरेका हुन् ।

यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित रहेका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।

दुई देशका अधिकारीले नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशन सम्बन्धी सम्झौता आदानप्रदान गरेका हुन् ।

समझदारीअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ जनमुक्ति सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो। प्रधानमन्त्री प्रचण्डसंगको भेटमा चिनियाँ प्रधानमन्त्री लीले दुई मुलुकबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको महसुस गरेको बताउनुभएको थियो।

उहाँले नेपालका प्रधानमन्त्री प्रचण्डको भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोगी बनेको भन्दै यसले आपसी सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्‍याएको उल्लेख गर्नुभयो ।

चिनियाँ प्रधानमन्त्री लीले नेपालको सदियौँ पुरानो छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राख्नु भएको थियो। यसअघि आजै बिहान प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच नी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको थियो।

चिनियाँ राष्ट्रपति सी जिनफिङसँग हाङजाउ सहरमा भएको भेटमा भएको कुराकानीका आधारमा सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्