खेलकूद

कन्तविजोक अवस्थामा गौतमबुद्ध क्रिकेट रंगशाला, प्रगति शून्य (भिडियो रिपोर्टसहित)

२०८० भदौ ३० गते २०:५०
कन्तविजोक अवस्थामा गौतमबुद्ध क्रिकेट रंगशाला, प्रगति शून्य (भिडियो रिपोर्टसहित)

३० भदौ २०८० चितवन । जबजब क्रिकेटको सरगर्मी चढ्छ तबतब नागरिकले व्यक्तिगत आर्थिक सहयोग गरेर बनाउन दिएको चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको चर्चा हुन्छ ।

धुर्मुससुन्तली फाउन्डेसनले निर्माण थालेको महत्वाकांक्षी रंगशाला आर्थिक अभावका कारण अलपत्र छ । फाउन्डेसनले रंगशाला निर्माणका लागि आवश्यक स्रोत जुटाउन नसकेपछि काम रोकिएको थियो । सरकारले फाउन्डेसनबाट रंगशालाको स्वामित्व लिएर थप काम आफैंले अघि बढाउने निर्णय गरेको पनि धेरै भइसक्यो । तर, अहिलेसम्म प्रगति शून्य छ । भरतपुर महागनरपालिकाले छिट्टै काम अघि बढ्छ बताएपनि अहिले रंगशाला निर्माणस्थलको अवस्था विरक्तलाग्दो देखिन्छ ।

गत चैतमा मन्त्रिपरिषद बैठकले धुर्मुस सुन्तली फाउन्डेसनले बनाउँदै गरेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिने निर्णय गर्‍यो । २०७८ साउन २२ गतेबाट काम रोकेर फाउन्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरणको पत्र पठाएको थियो । सरकारले हिसाब फरफारक गर्न १२ करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत रंगशालाका लागि तीन करोड रूपैयाँ विनियोजन गरेको थियो । तर, सरकारले बनाउँछु भनेपनि रंगशालाको अवस्था दयनीय छ ।

रंगशालामा काम नभएपछि सबैतिर झाडीले छोपेको छ । यसअघि रंगशालाको नमुना मैदानमा क्रिकेट खेलसमेत हुने गरेका थिए । तर, पछिल्लो समय त्यहाँ पनि सबै घारीले ढाकिएको छ ।

ऋण तिर्ने विषय चुनौतीका रुपमा रहेकाले यसलाई टुङ्गो लगाएर यही आर्थिक बर्षमा निर्माणको काम आगडि बढाउने महानगरको योजना छ । रंगशाला निर्माण गर्न वागमती प्रदेश र भरतपुर महानगरले चरणवद्ध रुपमा अगाडि बढाउने योजना छ । प्रदेश सरकारले मैदानको मापन गरेर स्टिमेट गर्न निर्देशन दिएपछि महानगरले केही दिनदेखि निर्माणस्थलको सफाइमा कामदार खटाएको छ । अहिले ३० जना कामदारले झाडी सफाइ गर्दै छन् । त्यसपछि साइट क्लियर गरी मापन गरिनेछ । प्याराफिट निर्माण गरी अन्तर्राष्ट्रिय खेलकुदहरु सञ्चालन गरिने महानगरको योजना छ ।

यता प्रदेश र महानगरले मिलेर रंगशाला बनाउने भनेपनि सरकारले भने रंगशाला निर्माणका लागि भारतको सहयोग मागेको खुल्न आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ देखि २० सम्म भएको भारत भ्रमणमा चितवनस्थित धनगढीको फाप्ला रंगशाला बनाउन सहयोग मागेकोमा भारतले प्रारम्भिक सहमति जनाएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

चितवन रंगशालाको प्याराफिटको पहिलो चरणको काम फाउन्डेसनले नै बनाएर सकाएको थियो । तीन हजार दर्शक क्षमता भएको प्याराफिटका २ सय ८६ वटा पिलर उठाइएका थिए । तर अहिले पिल्लरको रडमा खिया लागेको छ । ३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च भएको छ । ऋण नै १२ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले रोके काम रोकेका थिए । २०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्