जथाभावी भ्युटावर : दाङको बङ्गलाचुलीमा तीन ठाउँमा भ्यु टावर (भिडियो रिपोर्टसहित)

२०८० भदौ २० गते १७:५९
जथाभावी भ्युटावर : दाङको बङ्गलाचुलीमा तीन ठाउँमा भ्यु टावर (भिडियो रिपोर्टसहित)

२० भदौ २०८० दाङ । स्थानीय सरकारले भौतिक संरचनामा होडबाजीसहित बजेट खर्चेको देखिन्छ । ती भौतिक संरचना पनि अधिकांश विलासी र मनोरञ्जनका लागि बनेका वा बन्दै गरेका भेटिन्छन् ।

अति आवश्यकभन्दा पनि कम आवश्यक कुरामा जनप्रतिनिधिको ध्यान पुगेको देखिन्छ । अहिले दाङको बङ्गलाचुली गाउँपालिकामा पर्यटन प्रवर्द्धनका नाममा तीन स्थानमा भ्यु टावर बनाइएको छ । जनजीविकासँग जोडिएका विषयमा लगानी गर्न भन्दा यस्ता अनावश्यक कुरामा बढी जोड दिँदा आलोचनाको सिकार भएको छ ।

हरेक स्थानीय तहमा कम्तीमा एउटा र बढीमा चारदेखि पाँचवटा भ्युटावर बनाइएको पाइन्छ । पछिल्लो समयमा सामाजिक सञ्जालमा भ्युटावर र यसको विषयमा विभिन्न धारणा र आँकडा आउन थालेका छन् । सरल नेपाली शब्दमा भन्नुपर्दा दृश्यावलोकन स्तम्भ र आम चलनचल्तीको भाषामा भ्युटावर भनिने पूर्वाधार देशका हरेक स्थानीय तहमा उच्च महत्वका साथ बनेको छ ।

सङ्घीताको अभ्यासमै अनगिन्ती भ्युटावर बन्नुले आम जनप्रतिनिधिमा विकास भनेको आम जनताको आवश्यकता पूरा गर्नेभन्दा पनि के कुराले आफ्नो स्थानीय तहमा आम्दानी हुन्छ र के काम गर्दा सबैले स्पष्ट देख्छन् भनेर सोहीअनुसार क्षणिक ख्यातिका लागि परेको देखिन्छ । दाङको बंगलाचुली गाउँपालिकाले पनि यसैलाई निरन्तरता दिएको छ ।

भूगोलको हिसाबले उच्च स्थानमा रहेको बंगलाचुली आफैंमा भ्युटावर हो । तर, स्थानीय सरकारले करोडौं रकम खर्च गरेर भ्युटावर बनाएपछि पर्यटन प्रवर्द्धन हुन्छ, स्थानीय आफ्नै गाउँठाउँमा व्यवसाय गर्न पाइन्छ र आर्थिक स्थितिमा केही सुधार हुन्छ भन्ने आशामा थिए । तर, डाँडाको टुप्पामा ठडिएका भ्युटावरले कुनै प्रभाव पारेन । बजेटमात्र खर्च भएकोमा नागरिकमात्र होइन, जनप्रतिनिधि नै असन्तुष्ट छन् । टावर बनेका स्थानमा खानेपानीको समस्या छ । त्यो बजेट खानेपानीको आयोजनामा लगाएको भए समस्या केही हदसम्म समाधान हुने नागरिकको भनाइ छ ।

गाँस, बास, कपास र स्वास्थ्य शिक्षा तथा रोजगारमा लगानी नगर्ने वा ती कुरालाई न्यूनबाट मध्यम स्तरसम्म उकास्नेतर्फ ध्यान दिएको पाइँदैन । गाउँपालिकाको यो कदमप्रति वडा सदस्य पनि खुसी छैनन् ।

गाउँपालिकाको ८ नम्बर वडाको हाँसिपुर, वडा नम्बर २ को धिमधिमे लेक र वडा नम्बर ५ को बंगलाचुली गरी तीनवटा टावर बनाउन पालिकाले दुई करोडभन्दा बढी रकम खर्च गर्‍यो । गाउँपालिकाले संचालनको योजना नबनाउँदा भ्युटावर र आसपासका संरचना जीर्ण बन्न थालेका छन् । तर बनेका भ्युटावरलाई नागरिकले अपनत्व लिनुपर्ने गाउँपालिकाको धारणा छ ।

२०७४ यता लुम्बिनी प्रदेशमा एक दर्जनभन्दा बढी भ्युटावर बने । तिमध्ये रोल्पाको सातदोबाटो र दाङको छिल्किोटमा बनेका टावर संचालनमा छन् । रुपन्देहीको तिलोत्तमामा बनेको बहुउद्देस्यीय भ्युटावर संचालनको प्रक्रियामा छ । नेपालजस्तो देशमा प्राकृतिक भीरपहरा, डाँडाकाँडा आफैँमा प्राकृतिक भ्युटावर हुन् । तिनै प्राकृतिक डाँडा तथा भीरलाई केही सुधार गरेर पर्यटकको आकर्षक रोजाइको केन्द्र बनाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *