प्रहरी अस्पताललाई रातारात सारेपछि स्थानीय जनप्रतिनिधिसँग नागरिक आक्रोशित (भिडियो रिपोर्टसहित)

२०८० मंसिर २९ गते १६:२४
प्रहरी अस्पताललाई रातारात सारेपछि  स्थानीय जनप्रतिनिधिसँग नागरिक आक्रोशित (भिडियो रिपोर्टसहित)

२९ मंसिर २०८० मोरङ । मोरङको बेलबारीमा संचालन भइरहेको प्रहरी अस्पताललाई रातारात इनरुवा सारेपछि स्थानीय जनप्रतिनिधिसँगै नागरिक पनि असन्तुष्ट छन् ।

प्रहरीले १५ शैय्याको अस्पताललाई अन्यत्र सार्दा नगरपालिकालाई जानकारी समेत नगराएको भन्दै जनप्रतिनिधि आक्रोशित छन् ।

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ मा रहेको प्रदेशस्तरीय प्रहरी अस्पतालका कारण प्रहरी परिवारले मात्र नभई नागरिकले पनि सहज रुपमा उपचार पाएका थिए ।

नेपाल प्रहरीको व्यवस्थापनमा बेलबारीमा सञ्चालित अस्पताल २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उद्घाटन गरेपछि संचालनमा आएको थियो । अस्पतालमा दैनिक ३० जनासम्म ओपिडीमा बिरामी आउने गरेको अभिलेखमा देखिन्छ । अस्पतालमा ९ औं तहका चिकित्सकसहित ६० जनाको दरबन्दी थियो ।

नौ महिनाअघि संचालनमा आएको अस्पताललाई प्रहरीले रातारात कसैलाई थाहा नदिई इनरुवा सारेपछि जनप्रतिनिधि पनि असन्तुष्ट छन् ।

बेलबारी नगरपालिकाले प्रदेश प्रहरी अस्पतालको लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । १० करोडभन्दा बढीको लगानीमा अस्पतालका लागि बुधबारेमा भवन बनाइरहेको छ । जसको निर्माण अन्तिम चरणमा पुगेको छ । तर, प्रहरीले अस्पताललाई जिल्ला समन्वय समितिको कार्यालयमा लगेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले साँघुरो संरचना र पुरानो भवनबाट सेवा प्रवाहमा समस्या भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशन बमोजिम अस्पताल सारिएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *