एमालेमा बढ्यो अध्यक्ष ओलीको सक्रियता, गुण्डुबाटै पार्टी सञ्चालन, पद नछाड्ने सन्देश
काठमाडौं : नेपाली राजनीतिका सबैभन्दा सक्रिय नेतामध्ये एक हुनुहुन्छ एमाले अध्यक्ष केपी शर्मा ओली । तर, जेनजी आन्दोलन र फागुन २१ को निर्वाचनपछि पार्टीभित्र मात्र हैन राष्ट्रिय राजनीतिमै रक्षात्मक अवस्थामा पुग्नुभएका उहाँ लामो समयसम्म सार्वजनिक रूपमा निष्क्रिय हुनुभयो । तर, पछिल्ला केही सातादेखि दृश्य फेरिएको छ । पार्टीका आन्तरिक बैठकदेखि सार्वजनिक मञ्चसम्म ओलीको उपस्थिति बढ्न थालेको छ । यसले एउटा प्रश्न जन्माएको छ-के यो सामान्य राजनीतिक सक्रियता हो, वा पार्टीभित्र बढ्दो नेतृत्व हस्तान्तरणको दबाबको जवाफ ?
जेनजी आन्दोलनपछि लामो समय निस्क्रिय जस्तो देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय फेरि सक्रिय बन्न थाल्नुभएको छ । पार्टीका आन्तरिक तथा वाह्य कार्यक्रममा ओलीको उपस्थिति बाक्लिँदै गएको छ । यससँगै ओलीले राजनीतिमा आफ्नो आवश्यकता छ र पार्टीमा नेतृत्व परिवर्तनको बहसको औचित्य छैन भन्ने सन्देश दिने प्रयास गर्नुभएको छ ।
आन्दोलनपछि ओझेल
जेन-जी आन्दोलनपछि १० दिनसम्म नेपाली सेनाको सुरक्षामै रहेका ओली असोज २ गते गुन्डुस्थित नयाँ निवासमा सार्वजनिक भएपछि लामो समयसम्म निस्क्रिय जस्तै रहनुभयो । सार्वजनिक कार्यक्रममा कमै मात्र उपस्थित भएका ओली मंसिरमा भएको ११औँ महाधिवेशनबाट पार्टी अध्यक्षमा तेहेरिन त सफल हुनुभयो । तर फागुन २१ को निर्वाचनमा आफ्नै गृहजिल्लामा बालेन्द्र शाहसँग फराकिलो मतान्तरले पराजित हुनुभयो । चुनावपछि नयाँ सरकार बनेकै दिन चैत १४ गते पक्राउ परेका ओली अस्वस्थ भएपछि १२ दिन अस्पताल बसेर अस्पतालबाटै हिरासतमुक्त हुनुभयो ।
जेनजी आन्दोलनपछि धुमिलिएको छवि र फागुन २१ को निर्वाचनमा पार्टीले बेहेरेको हारपछि ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब बढ्दै गइरहेको थियो । महाधिवेशनमा ओलीलाई अध्यक्षमा तेहेर्याउन सहयोग गरेका उहाँ निकट नेताहरुले नै पद छाड्न दबाब बढाएपछि ओली गल्ने कतिपयको आँकलन थियो । तर त्यसको विपरित ओलीले आफू नथाकेको र अहिल्यै विश्राम नलिने सन्देश दिँदै पुन: सक्रिय हुनुभयो ।
गुण्डुबाटै पार्टी सञ्चालन
ओलीले गुण्डुस्थित निवासमै पार्टीका बैठकहरु राख्न थाल्नुभयो । जहाँ उहाँको सक्रिय सहभागिता देखिन्थ्यो । गुण्डुमै बसेको सचिवलाय बैठकमा ओलीलाई उहाँको कार्यशैलीको चर्को आलोचना गर्दै नेताहरुले मार्ग प्रशस्त गर्न दबाब दिए । तर ओली टसको मस हुनुभएन । बरु उहाँले आफूमाथि देखिएको संकट मोचनका लागि अर्को कार्ड खेल्नुभयो, विद्यरुपी कार्ड । उहाँले यसअघि आफैले पेन्डिङमा राख्न लगाएको पूर्वराष्ट्रपति विद्य भण्डारीको पार्टी सदस्यता नविकरणको प्रस्ताव गर्दै सचिवालय बैठकबाट कार्यान्वयन समेत गराउनुभयो । यो उहाँको पार्टीमा आन्तरिक शक्ति सन्तुलन मिलाउने रणनीति थियो ।
सार्वजनिक कार्यक्रममा पुनरागमन
यतिबेलासम्म पार्टीका आन्तरिक बैठक त्यो पनि आफ्नै निवास गुण्डुमा सीमित भएका ओली फागुन २१ को निर्वाचनपछि पहिलोपटक जेठ २० गते सार्वजनिक कार्यक्रममा देखा पर्नुभयो । त्यो थियो एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तारसम्बन्धी राष्ट्रिय कार्यशाला । च्यासलमा आयोजित कार्यक्रमबाट ओलीले पार्टीभित्र आफ्नो विकल्प खोजिरहेकाहरुलाई आफूले अहिल्यै विश्राम नलिने चेतावनीमूलक जवाफ दिनुभयो ।
त्यसयता ओलीको सार्वजनिक उपस्थिति बाक्लिँदैछ । यसैको निरन्तरता थियो असार १४ गते मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रम । मदन भण्डारी फाउण्डेसनले गरेको सो कार्यक्रममा नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र झलनाथ खानलको समेत उपस्थितले ओली पार्टी भित्रमात्र होइन राष्ट्रिय राजनीतिमै सक्रिय हुन खोजेको प्रष्ट देखिन्छ । कार्यक्रम पूर्वराष्ट्रपति भण्डारीको सक्रियतामा भए पनि ओलीको इच्छाबिना सबै शीर्ष वाम नेताको एउटै मञ्चमा उपस्थिति सायदै सम्भव थियो । त्यही मञ्चबाट ओलीले वाम एकताको आवश्यकता दोहोर्याउँदै राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका अझै समाप्त नभएको सन्देश दिनुभयो ।
पछिल्लो समय आधा दर्जनभन्दा बढी सार्वजिक कार्यक्रममा पुग्नुभएका ओलीले निवासबाटै पनि भर्च्यूअल रूपमा पार्टी कमिटीका विभिन्न बैठक, भेला तथा कार्यक्रमलाई सम्बोधन गरिरहनुभएको छ । ११औँ महाधिवेशन भएको सात महिना पनि पूरा भएको छैन । तर नेतृत्व हस्तान्तरणको बहस भने पार्टीभित्र रोकिएको छैन । जेनजी आन्दोलनपछि कमजोर बनेको राजनीतिक छवि, निर्वाचनको हार र बढ्दो आन्तरिक दबाबबीच ओलीले आफ्नो सक्रियता उल्लेख्य रूपमा बढाउनुभएको छ । यसलाई कतिपयले नेतृत्व परिवर्तनको दबाबलाई मत्थर बनाउने रणनीतिका रूपमा हेरेका छन् भने कतिपयले उहाँको राजनीतिक पुनरागमनको संकेत । तर एउटा कुरा स्पष्ट छ, ओलीले तत्काल सक्रिय राजनीति छाड्ने मनस्थिति बनाइसक्नुभएको छैन । बरु पछिल्ला गतिविधिले उहाँ अझै पनि एमालेको नेतृत्व र राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव कायम राख्न सक्रिय रूपमा लागिरहेको सन्देश दिनुभएको छ ।

प्रतिक्रिया