तराईमा समा चकेवा पर्व मनाइँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० मंसिर ६ गते १६:१०
तराईमा समा चकेवा पर्व मनाइँदै (भिडियो रिपोर्टसहित)

६ मंसिर २०८० सिरहा । तिहार सकिएसँगै मिथिलाञ्चल र तराईका आदिवासी थारु समुदायका दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्ने पर्व समा चकेवा मनाइरहेका छन् ।

दिदीबहिनी र दाजुभाइको प्रेमसम्बन्ध प्रगाढ बनाउने पर्वका रुपमा मनाइँदै आएको समा चकेवामा दिदीबहिनीले दाजुभाइको आरोग्य र सुख प्राप्तिको कामना गर्ने गर्दछन् ।

तिहार सकिएसँगै मिथिलाञ्चलमा साँझ महिलाहरु गीत गाउँदै दाजुभाइको समृद्धिको कामना गर्दै यो पर्व मनाउने गर्दछन् । दाजुभाइको प्रशंसा र दीर्घायुको कामना गरेका गीतहरु अहिले टोलटोलमा गुञ्जिरहेको छ ।

दाजुको भकारीमा धान छ भने चुगलाको भकारीमा भुस भरिएको छ । दाजुको मुखमा पान छ भने चुगलाको मुखमा कोइला छ । दाजुको कोठीमा चामल भरिएको छ भने चुगलाको कोठीमा खरानी छ । सामा–चकेवा खेल्दा दाजुभाइको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीतहरू गाएर बहिनीहरू मनोरञ्जन गर्ने गर्दछन् ।०

कात्तिक शुक्ल द्वितीया तिथिदेखि कात्तिक पूर्णिमाको मध्यरातिसम्म मिथिलाञ्चल र थारु आदिवासी बसोबास गर्ने स्थानमा साँझ यस्तै माहोल चलिरहन्छ ।

स्कन्धपुराणका अनुसार छोरी सामाको कुनै मुनिसँग सम्वन्ध छ भनेर कृष्णलाई एक व्यक्तिले चुकली लगाई दिए । त्यसपछि रिसाएका कृष्णले छोरीलाई श्राप दिएर चरा बनाए । बुबाको निर्णयबाट आहत भएका भाइ चकेवाले घोर तपस्या गरेर बहिनीलाई फेरि मानिसकै रुपमा फर्काउन सफल भएको पौराणिक कथन छ । यो पर्वमा चुग्ली लगाउनेको प्रतिमा बनाएर मुखमा १० दिन सम्म कालो पोत्ने गरिन्छ ।

सामा चकेवा पर्वको अन्तिम दिन पुर्णिमामा माटोको सतभईया, चुगला, सामा, चकेवालगायत प्रतिमा भाइको हातबाट फुटाई जोतिएको खेत वा वनमा राखि विसर्जन गरिन्छ । बहिनीद्वारा भाइलाई चिउरा, दही, मिष्ठान, सखरको भोजन गराउँछन् भने दाजुभाइले दिदीबहिनीलाई आफ्नो गक्षअनुसार दक्षिणा दिने प्रचलन छ । जसलाई स्थानीय भाषामा ‘फाँरभरी’ पनि भन्ने गरिन्छ । दशैं, तिहार र छठपछि तराईमा यो अन्तिम पर्वका रूपमा मनाईन्छ ।


सुरेश राय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *