खेलकूद

एसिया कपको डेब्यु खेलमा पाकिस्तानसँग भिड्दै नेपाल, यस्तो छ टिम (भिडियो रिपोर्टसहित)

२०८० भदौ १२ गते २१:००
एसिया कपको डेब्यु खेलमा पाकिस्तानसँग भिड्दै नेपाल, यस्तो छ टिम (भिडियो रिपोर्टसहित)

१२ भदौ २०८० काठमाडौं । एसिया कप क्रिकेटको डेब्यु खेलमा भोलि नेपालले आयोजक पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । पहिलो पटक एक दिवसिय विश्व वरियताको शीर्षस्थानको टोलीसँग खेल्न लागेको नेपाली टोली कस्तो छ ? यो हेरौं ।

नेपाली क्रिकेटका लागि बुधबार सबैभन्दा महत्वपूर्ण दिन हो । पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले पहिलो खेलमै आयोजक तथा २ पटकको विजेता पाकिस्तानसँग खेल्दैछ । यो खेल मुल्तान क्रिकेट रंगशालामा हुनेछ । यो रंगशालामा अहिलेसम्म १० अन्तर्राष्ट्रिय एक दिवसीय खेल भएका छन् ।

औसतमा २ सय ५५ रन बन्ने गरेको यो मैदानमा घरेलु टोलीले ७ खेल जितेको छ । ब्याटिङ पिच भए पनि यो मैदानको पिच तीव्र गतिका बलर सुहाउँदो मानिन्छ । पछिल्लो पटक यसै मैदानमा वेस्ट इण्डिजसँग भएको ३ खेलको ओडिआई सिरिज पाकिस्तानले क्लिन स्विप गरेको थियो । यसरी घरेलु मैदान र समर्थकको साथमा अनुभवी खेलाडी रहेको पाकिस्तान नै बलियो स्थितिमा छ ।

त्यसैले पाकिस्तानविरुद्ध नेपालले विपक्षी अनुसार पिचको अवस्था, आवश्यकता र आफ्नो रणनीति अनुसार १७ सदस्यीय टोलीबाट ११ खेलाडी मैदानमा उतार्नेछ । पाकिस्तानविरुद्ध मुख्य प्रशिक्षक मोन्टी देशाईले कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, भिम सार्की वा अर्जुन साउद, कप्तान रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेलाई सुरुवाती ११ मा समेट्न सक्छन् ।

पछिल्लो समय कुशल भुर्तेल र आसिफ शेखले टोलीको ओपनिङ सम्हालिरहेका छन् । ओडिआईमा नेपालका लागि कुशल र आसिफले नै अहिलेसम्म १ सय ७१ रनको सर्वाधिक साझेदारी गरिसकेका छन । ३ पटक शतकीय साझेदारी गरि सकेका यि दुईले नै नेपालको ब्याटिङ सुरुवात गर्ने पक्कापक्की छ । आसिफले टोलीमा विकेटकिपरको जिम्मेवारी समेत निभाउँदै आएका छन् ।

विकेटकिपिङको अर्को विकल्प अर्जुन साउद छन् । इमर्जिङ कपमा पाकिस्तानको ए टिम विरुद्ध राम्रो प्रदर्शन गरेका अर्जुनले सिनियर टोलीविरुद्ध समेत मौका पाउने सम्भावना छ । अर्जुनले सुरुवाती ११ मा स्थान बनाउन नसकेकामा भीम सार्कीको सम्भावना बलियो छ ।

आवश्यकता अनुसार मध्येक्रम सम्हाल्ने जिम्मेवारी कप्तान रोहितको काँधमा हुनेछ । ५९ बलमै ओडिआई शतक बनाएका कुशल मल्ल मध्येक्रममा राम्रो जम्न सक्ने खेलाडी हुन् । यो सुचीमा आरिफ र बलिङमा समेत प्रभाव पार्न सक्ने दीपेन्द्र पनि छन् । तीव्र गतिको बलिङ गर्दै आएका गुल्शन, करण र सोमपाल तल्लोक्रममा स्कोर बनाउन सक्ने खेलाडी हुन् । अनुभवी खेलाडी सन्दीप टोलीका लागि अनिवार्य खेलाडी हुन् ।

अलराउण्डमा कुशल मल्ल, दीपेन्द्र र गुल्शनले मौका पाउन सक्छन् भने फास्ट बलिङमा करण र सोमपाल छन् । स्पिनमा सन्दीप निर्विकल्प रहँदा आवश्यकता र रणनीति अनुसार ललित राजवंशीलाई पनि मैदानमा देख्न सकिन्छ । किनकी घरेलु मैदानमा सुरुवाती बलिङमा आउने ललितको प्रदर्शन महत्वपूर्ण साबित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्