कर्णालीले जन्माएका सहिद ओझेलमा (भिडियो रिपोर्टसहित)

२०८० भदौ ६ गते १०:४३
कर्णालीले जन्माएका सहिद ओझेलमा (भिडियो रिपोर्टसहित)

६ भदौ २०८० सुर्खेत । संविधान निर्माणका क्रममा प्रमुख चार दलका नेताहरू संलग्न विशेष समितिले २०७२ को साउन २३ गते ६ वटा प्रदेशको खाका सार्वजनिक गर्‍यो। सार्वजनिक खाकामा असहमति जनाउँदै भेरी र कर्णाली अञ्चलमा आन्दोलन भयो।

‘अखण्ड मध्यपश्चिम’ नाम दिएर भेरी र कर्णालीका १० जिल्लालाई छुट्टै अर्को प्रदेशमा राख्न माग गर्दै १३ दिनसम्म आन्दोलन हुन पुग्यो। आन्दोलनमा सुर्खेत र जुम्लामा गरी ४ जनाको मृत्यु भयो। प्रदेशको निमित्त साहदत प्राप्त गरेकै स्थानमा प्रदेशको राजधानी र प्रदेश सरकारको थलो छ। तर बलिदान गर्नेलाई भने बिर्सिएको छ ।

८ वर्षअघि २०७२ साउन २३ गते मध्यराति प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरू सम्मिलित विशेष समितिले ६ प्रदेशको सीमाङ्कनसहितको संघीयताको खाका सार्वजनिक गर्‍यो । सो खाकामा साविक भेरी अञ्चलका बर्दिया र बाँकेबाहेक बाँकी जिल्ला र साविक कर्णालीका ५ वटा जिल्ला सुदूरपश्चिममा मिसाइएको थियो ।

मध्यपश्चिमलाई सुदूरपश्चिममा मिसाएर सीमाङ्कनको खाका सार्वजनिक नहुँदै साउन २२ गते नै साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई टुक्र्याउनु जायज नहुने भन्दै मध्यपश्चिम अखण्ड रहनुपर्ने आवाज बाहिर आउन थालिसकेको थियो । साविक मध्यपश्चिमाञ्चलका बाँके र बर्दियाबाहेकका १३ जिल्लालाई सुदूरपश्चिममा गाभ्ने निर्णय सार्वजनिक हुनेवित्तिकै फरक माहौल तयार भयो । मध्यपश्चिमाञ्चल विकास क्षेत्रका नागरिकलाई यो निर्णय मान्य थिएन । सुर्खेतलगायत जिल्लालाई सुदूरपश्चिम प्रदेशमा मिसाएपछि छुट्टै प्रदेशको माग गर्दै सुर्खेतमा अखण्ड मध्यपश्चिम नारा दिएर आन्दोलन जन्मियो ।

असन्तुष्टिले आन्दोलनको रूप लियो । राजनीतिक दलहरूले अगुवाइ नगरेका कारण वीरेन्द्रनगरको आन्दोलन दोस्रो दिनबाटै अनियन्त्रित बन्न थालिसकेको थियो । आक्रोशित युवाहरूले जिल्ला प्रशासन कार्यालयका गेट भत्काउनुका साथै झुप्रा बृहत् खानेपानी आयोजनाको मतगणनास्थलमा ढुङ्गामुढा गरे । पार्टी कार्यालयहरू तोडफोड गरे । एमाले, कांग्रेस र माओवादी केन्द्रको कार्यालयमा आन्दोलनको भिडले ठूलो क्षति पुर्‍यायो । पार्टी कार्यालय तोडफोडपछि नेताको घर तोडफोड हुन थाले ।

आन्दोलनकारीले निरन्तर तोडफोड गरी नै रहे । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी घटनास्थल पुगेलगत्तै उनको गाडीमा समेत आगजनी भयो । दुई सातासम्म चलेको आन्दोलनको क्रममा सुर्खेतका टिकाराम गौतम, गोपलसिंह रजवार, यामबहादुर विसी र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो । उनीहरुकै योगदानले प्रदेश प्राप्ती भएपनि प्रदेश सरकारले बलिदानीको कदर नगरेको सहिद परिवारको गुनासो छ ।

न शहीदका सालिक बनाए न सहिद परिवारका लागि गाँसवासको लागि कुनै कदम चालेको छ। चहलपहल हुने स्थानमा शालिक निर्माण, सहिद परिवारका सदस्यलाई परिचयपत्र, रोजगारीको व्यवस्था, स्वास्थ्य उपचार निःशुल्क र प्रतिष्ठान स्थापनामा सरकारले चासो नदिएको सहिद परिवारको गुनासो छ ।

अन्ततः प्रदेश नम्बर ६ अर्थात् कर्णाली जन्मियो । दश जिल्ला समावेश गरेर छुट्टै प्रदेश बनाउने सरकारले घोषणा गर्‍यो । कर्णाली प्रदेश बन्नुमा जनताको बलिदानी नै प्रमुख आधार थियो । शहीद परिवारलाई छात्रवृत्ति, औषधोपचार, आयआर्जन तथा रोजगारी दिइने भनिएको थियो । तर, त्यो गफमै सीमित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *