बाढी र पहिरो नियन्त्रणका लागि कर्णालीमा यस्तो प्रयास (भिडियो रिपोर्टसहित)

२०८० भदौ २ गते १८:०८
बाढी र पहिरो नियन्त्रणका लागि कर्णालीमा यस्तो प्रयास (भिडियो रिपोर्टसहित)

२ भदौ २०८० सुर्खेत । आर्थिक बर्ष २०७९र८० मा कर्णाली प्रदेशको भू तथा जलाधार कार्यालयले प्रदेशतर्फ एकीकृत जलाधार व्यवस्थापन एवं भू तथा जलाधार व्यवस्थापन कार्यक्रम गर्दै आएको छ ।

जसअन्तगर्त प्रदेश र संघका विभिन्न कार्यक्रममार्फत् ५३ हेक्टरमा वृक्षारोपण, बायोइन्जिनियरिङ प्रविधि मार्फत बाँसको ४ तहको टेवावाल र २ सय २१ मिटर वाटलिङको निर्माण गरी पहिरो रोकथाम गर्दै आएको छ । अहिलेसम्म १२ किलोमिटर खोला किनारा तटबन्धनका साथै ४ सय ३३ हेक्टर संरक्षण गरिएको छ ।

वर्षायाम शुरू भएसँगै सल्यान कपुरकोटका बासिन्दाले सम्झिन्छन्, खारा पहिरो । खारामा पहिरो गएको दशकौं भए पनि यसको रोकथाम तथा नियन्त्रणमा उपलब्धिमूलक कुनै कार्य भएको छैन । जिल्लाको कपुरकोट गाउँपालिका–३ मा पर्ने यो पहिरोको रोकथाम तथा नियन्त्रणका लागि २०५२ सालदेखि विभिन्न कार्यको थालनी गरिएको थियो । तर अहिलेसम्म पनि पहिरो नियन्त्रण हुन सकेको छैन । वर्षेनि यहाँका सयौं घर पहिरोको उच्च जोखिममा हुन्छन् ।

खारा पहिरोले जमिन भासिँदै जान थालेपछि आर्थिक वर्ष २०७५–०७६ देखि कर्णाली प्रदेशको भू तथा जलाधार कार्यालयबाट संचालन गरिएका भूसंरक्षण र जलाधार व्यवस्थापन कार्यक्रम अन्तर्गत माथिबाट बगी आउने माटोको लेदोलाई रोक्न विभिन्न काम भएका छन् ।

आरसीसी ड्याम, माथिल्लो तटीय क्षेत्रको भलबाढीलाई सुरक्षित निकास दिनको लागि ग्याबियन बोलष्टरको निर्माण र अम्रिसोको वृक्षारोपण गरिएको छ । यसले गर्दा राप्ती राजमार्ग र कपुरकोट बजारका करिब ६९ घरधुरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

कार्यालयले स्थानीयको सहभागितामा सुर्खेतसहित रुकुम पश्चिम, जाजरकोट, सल्यान, र दैलेख जिल्लाका जोखिमयुक्त खहरेखोला नियन्त्रणका लागि बार्षिक कार्यक्रममार्फत तटबन्ध निर्माण र बाँस, अम्रिसो र मेन्डुलाको बिउ रोप्दै आएको छ ।

अहिले तटबन्ध निर्माणबाट खोला किनारमा रहेका खेतियोग्य जमिन, घर, बाटो र स्कुल संरक्षण हुनुका साथै कार्यक्रम लागु भएका क्षेत्रका स्थानीयले रोजगारी पाएका छन् । कार्यालयको कार्यक्षेत्र अन्तरगत मध्य कर्णाली, तल्लो कर्णाली, ठुली भेरी, सानी भेरी, बबई, राप्ती, मध्य भेरी र तल्लो भेरी गरी ८ वटा सब बेसिनमा ३० वटा संवेदनशील जलाधार क्षेत्रको संरक्षणको काम भएको छ ।

चुरेबाट बग्ने नदी तथा सानाठुला खहरेको कटानको समस्या भोग्दै आएका सुर्खेत लगायत कर्णाली प्रदेशका स्थानीयलाई खोला छेउछाउको खेत कटानबाट बचाउन तटबन्ध निर्माणले राहत भएको छ । भू तथा जलाधार कार्यालय सुर्खेतको अगुवाईमा सुर्खेत सहित रुकुम पश्चिम, जाजरकोट, सल्यान र दैलेख जिल्लामा १२ किलोमिटर खोला कटानको संरक्षण भइ ४ सय ३३ हेक्टर जमिन संरक्षित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *