खेलकूद

नेपालले भारत ए लाई दियो १६८ रनको लक्ष्य

हिमालय टिभी
२०८० साउन १ गते १७:५८
नेपालले भारत ए लाई दियो १६८ रनको लक्ष्य

१ साउन २०८० काठमाडौं । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स कपमा नेपालले भारत ए लाई १ सय ६८ रनको विजयी लक्ष्य दिएको छ ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ६७ रन बनायो । इण्डियन प्रिमियर लिग आईपिएल खेलेका अनुभवी खेलाडीविरुद्ध नेपालको सुरुवात भने राम्रो हुन सकेन ।

ओपनर कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमै आउट हुँदा अर्का ओपनर आसिफ शेख पनि ७ रन बनाएर आउट भए । पावर प्लेमा नेपालले ३७ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । तर छैटौं विकेटका लागि कप्तान रोहित पौडेल र सोमपाल कामीले ५३ रनको साझेदारी गरे । २४ औं ओभरमा सोमपाल १४ रन बनाउँदै आउट हुँदा नेपालको खातामा ९० रन मात्र थियो ।

रोहितले त्यसपछि फेरी गुल्शन झासँग मिलेर ५४ रनको बलियो साझेदारी गर्दै नेपालको पाली सम्हाले । ६४ बलमा अर्धशतक बनाएका रोहितले ८५ बलमा ७ चौकाको मद्दतमा सर्वाधिक ६५ रन बनाए ।

३४ औं ओभरको दोस्रो बलमा रोहित निशान्त सिन्धुको बलमा विकेटकिपर ध्रुव जुरेलबाट क्याच भए । ३६ औं ओभरमा फेरी सिन्धु र जुरेलकै तालमेलमा गुल्शन झा ३८ रन बनाएर पेभेलियन फर्किए ।

बलिङमा निशान्त सिन्धुले ४, राजवर्धन हंगेगाकरले ३ र हर्षित रानाले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्