खेलकूद

क्यानको अध्यक्ष बन्ने दौडधुपमा पारस खड्का (भिडियो रिपोर्टसहित)

२०८० असार २९ गते २१:१५
क्यानको अध्यक्ष बन्ने दौडधुपमा पारस खड्का (भिडियो रिपोर्टसहित)

२९ असार २०८० काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको चुनावी साधारण सभाको मिति घोषणा भएसँगै नेतृत्वका आकांक्षीहरुले पनि तयारी थालेका छन् ।

वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नेतृत्व दोहोर्याउने मुडमा देखिँदा अन्यले पनि आ(आफ्नै ढंगमा चुनावी माहोल बनाइरहेका छन् । यसैबीच राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले भिडियो सन्देश जारी गर्दै जिल्ला स्तरदेखि नै क्यानलाई नयाँ संरचनामा लानुपर्ने उद्घोष गरे ।

खेलाडी जीवनको उच्च फर्ममा रहँदै गर्दा २०७८ साउन १९ गते पारस खड्काले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरे । त्यहीबेला नै उनले पत्रकार सम्मेलनमा खेलाडीका रुपमा सक्दो योगदान गरेको तर अब व्यवस्थापनमा लाग्ने संकेत गरेका थिए ।

क्यानको विधानअनुसार उम्मेद्वार हुनका लागि खेलाडीले कम्तीमा दुई वर्षअघि खेल जीवन त्यागेको हुनुपर्नेछ । यसर्थ पारस यसपटक क्यान नेतृत्व दाबी गर्न योग्य छन् र पछिल्लो भिडियो सन्देश पनि उनको चुनावी राजनीतिका रुपमा लिन थालिएको छ ।

राष्ट्रिय टोलीको कप्तानी गरिरहेकै समयमा पनि क्यानभित्रका विकृति विसंगतिविरुद्ध आवाज उठाउने गरेका उनी नेतृत्वको तारो समेत बने । जसले उनलाई पटक पटक विवादमा समेत ल्यायो । समग्र क्रिकेट विकासका लागि क्यान नेतृत्व जिम्मेवार रहने र यसका लागि संरचनागत प्रणालीमै सुधार गर्नुपर्ने उनको तर्क थियो ।

गत असार १५ गते बसेको क्यानको केन्द्रिय कार्यसमितिको बैठकले जिल्ला, प्रदेश र केन्द्रिय निर्वाचनको मिति घोषणा गरेको थियो । यसका लागि असार १६ देखि साउन १० गतेसम्म साधारण सदस्यता वितरण गर्न जिल्ला संघलाई जिम्मेवारी दिएसँगै अहिले सदस्यता वितरण भइरहेको छ । पारख खड्काले मापदण्ड पुगेका सबैलाई सदस्यता लिन र नवीकरण गरि आफ्नो अधिकार सुरक्षित राख्न आग्रह गरे ।

पूर्व घोषित तालिका अनुसार जिल्ला क्रिकेट संघको निर्वाचन साउन मसान्तसम्म, प्रदेश निर्वाचन भदौ १० र केन्द्रीय निर्वाचन असोज ५ र ६ गते हुने तय छ । सन्यासकै समयमा क्यान नेतृत्वमा आउने संकेत गरेपनि उनले अहिलेसम्म औपचारिक रुपमा आसन्न चुनावका विषयमा भने बताएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्