मलेसियालाई हराउँदै नेपाल बन्यो इष्ट जोन कप क्रिकेटको समूह विजेता

१५ असार २०८० काठमाडौं । सोह्र वर्ष मुनिको एसीसी इष्ट जोन कप क्रिकेटमा नेपाल समूह विजेता बनेको छ ।
समूह ए अन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियालाई ८४ रनले हराउँदै नेपाल समूह विजेता भएको हो । १८४ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया ३० दशमलव ५ ओभरमा ९९ रनमा अलआउट भयो ।
मलेसियाका मोहम्मद हैरिलले २५, कप्तान मुहम्मद आलिफले १५ तथा मुहम्मद अक्रमले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका अशोक धामीले ४, अभिषेक तिवारीले ३ तथा सन्तोष यादवले २ विकेट लिए ।
यसअघि मलेसियाको बांगीस्थित बायोमास ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल दुई बल अगावै १८३ रनमा अलआउट भएको थियो । नेपालका अशोक धामीले ५२ रनको अर्धशतकीय इनिंग्स खेले ।
त्यस्तै सुर्यांशु कोइराला र नरेन भट्टले समान २९ रनमा आउट हुँदा कृतिक कामतले १६ र दीपु कुमारले १५ रन बनाए । बलिङमा मलेसियाका हाजिक हकिल, मुहम्मद अक्रम, अरिएन अकिल र मुहम्मद मुकरीले २२ विकेट लिए ।
नेपाल र मलेसिया दुबै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । पराजित मलेसिया समूह उपविजेता बनेको छ । नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई २२५ रनले हराएको थियो ।
प्रतिक्रिया