खेलकूद

आईसीसी विश्वकप छनोटमा नेपालले नेदरल्याण्ड्सलाई दियो १६८ रनको विजयी लक्ष्य

हिमालय टिभी
२०८० असार ९ गते १६:२९
आईसीसी विश्वकप छनोटमा नेपालले नेदरल्याण्ड्सलाई दियो १६८ रनको विजयी लक्ष्य

९ असार २०८० काठमाडौं । आईसीसी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्डविरुद्धको खेलमा फितलो ब्याटिङ गरेको नेपालले १६८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बाब्वेको हरारे मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव ३ ओभरमै सबै विकेट गुमाउँदै १६७ रनको योगफल बनायो । सुपर सिक्समा स्थान बनाउन जित्नै पर्ने दबाबका साथ मैदान प्रवेश गरेको नेपालका दुवै ओपनरले राम्रो प्रदर्शन गर्न सकेनन् । ४२ बल खेलेका कुशल भुर्तेलले २ चौकाको सहयोगमा २७ रन प्रहार गरे ।

अर्का ओपनर आसिफ शेख रनको खाता नखोली मैदानबाट बाहिरिए । उनले दुई बल खर्चिए । त्यस्तै अर्का ब्याट्सम्यान भीम सार्कीले ५६ बलमा १ चौकाको सहयोगमा २२ रन बनाए । आसिफ शेख भने सस्तैमा मैदानबाट बाहिरिए । उनले ४ बलमा ६ रन प्रहार गरे ।

नेपालका लागि सर्वाधिक रन बनाएका कप्तान रोहित पौडेले इनिङ्स सम्हाले प्रयास गरे पनि सफल हुन सकेनन् । ५५ बल खेलका कप्तान पौडेलले ३ चौका र १ छक्काको सहयोगमा ३३ रन प्रहार गरे । कुशल मल्लले १९ बलमा १२ रन बनाए भने दिपेन्द्रसिंह ऐरीले २१ बलमा १४ रन बनाए । गुल्सन झाले १५ रन बनाउँदा सन्दीप लामिछानेले २७ रन बनाए ।

नेपाललाई सस्तैमा समेटन नेदरल्यान्ड्सका नेदरल्यान्ड्सका लगन भान विकले ४ तथा बास डि लिड र विक्रमजित सिंहले समान २–२ विकेट लिए । क्लेटन प्लोयट र आर्यान दत्तले समान १–१ विकेट लिए । सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउन बाहेक विकल्प छैन । विजयी भएमा नेपालको सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ ।

अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग पनि हारेमा नेपालको स्थान पक्का हुनेछ । यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो । नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो ।

नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ । दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो ।

पछिल्लो समय नेदरल्यान्ड्सले टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो । हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्