जानकी मन्दिरकाे स्वरुप बिगारिँदै (भिडियो रिपोर्टसहित)

२०८० असार ८ गते १६:२०
जानकी मन्दिरकाे स्वरुप बिगारिँदै (भिडियो रिपोर्टसहित)

८ असार २०८० धनुषा । जनकपुरधाम र जानकी मन्दिर विश्व प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य हुन् । तर, जानकी मन्दिर विश्व सम्पदा सूचीमा अझै पर्न सकेको छैन । पछिल्लो केही वर्षमा मन्दिरको मौलिकतामा गम्भीर असर पर्ने संरचना निर्माण गरिएको छ ।

मन्दिरको ऐतिहासिकता र मौलिकताको ख्याल नै नगरी जथाभावी शौचालय, भोजनालय, भवनको निर्माण तथा भित्री र बाहिरी परिसरको ईट्टा, टाइल्स, मार्बलको पुरानो स्वरुप परिवर्तन गरी नयाँ स्वरुपमा ढालिएको छ । जसले गर्दा सरकारले घोषणा गरे पनि मन्दिर विश्व सम्पदामा सूचीकृत नहुने चिन्ता बढ्दै गएको छ ।

भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले जानकी मन्दिरलाई नौलख्खा मन्दिर पनि भनिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा निर्माण पूरा भएको यो मन्दिर नेपालकै ठुलो र विशाल पनि मानिन्छ ।

हाल मधेशको राजधानी भए पनि जनकपुरधाम पुग्नै पर्ने एक प्रमुख कारण खोज्दा जानकी मन्दिरको नाम पहिलो नम्वरमा आउँछ । तर यही ऐतिहासिक र कलात्मक मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छैन ।

खासमा यो मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न स्वयं मन्दिरका महन्थ, गुठी संस्थान नै इच्छुक नरहेको पाइएको छ । सन् २०१४ देखि एक दशकसम्म यस मन्दिरलाई विश्व सम्पदामा समावेश गर्न अभियान चलाएका हाल चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो भन्नुहुन्छ– इच्छा नगर्दा नै जानकी विश्व सम्पदामा परेन ।

पुरातत्व विभाग भने मन्दिरलाई सूचीकृत गर्न इच्छुक छ । संघीय सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउने घोषणा गरिएको छ । तर, जनकपुरका अगुवा यस योजनामा विश्वस्त छैनन् ।

खासमा विश्व सम्पदामा सूचीकृत हुन आवश्यक मापदण्ड पूरा भएको छैन । केही समयअघि सौन्दर्यीकरणका नाममा मन्दिरको संरचनामा केही काम भएको थियो। यस्तो कामले मौलिकता र पुरातात्विक महत्वमा असर परेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। मौलिक संरचनामा असर परेकाले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन बाधा पर्न सक्ने धेरैको शंका छ ।

मन्दिरमा २४३ वटा चिम, सेक्युरिटी मेटल डिटेक्टर ४३ वटा, सोलार स्ट्रिट९लाइट १६ वटा, स्ट्रिट९लाइट ४८ वटा, स्पिकर ७४ वटा, ३० केभिएको स्टेबलाइजर र युपिएस लगायत सामग्री जडान गरिएको छ । प्रभाव मूल्यांकन नै नगराई विद्युतीय सामग्री जडान गरिएको छ । चुना–माटोले बनेको मन्दिरमा सयौं किला ठोकिएको छ । यसले मन्दिरको भौतिक संरचना कमजोर बनाएको छ । यस्तो अवस्थामा सरकारले गरेको घोषणा नारामै सीमित हुने हो कि भन्ने चिन्ता बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *