खेलकूद

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित

हिमालय टिभी
२०८० असार ६ गते १७:५९
साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित

६ असार २०८० काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा साबिक उपविजेता नेपालले हारबाट प्रतियोगिता सुरु गरेको छ ।

भारतको बैङ्गलुरुस्थित श्री कान्तिराभा रंगशालामा नेपाल आमन्त्रित टोली कुवेतसँग ३–१ गोलले हारेको हो । कुवेतलाई जित दिलाउन खालेद हजिया, शाबिब अल खल्दी र मोहम्मद अब्दुल्लाहले १–१ गोल गर्दा नेपालका लागि अन्जन विष्टले १ गोल फर्काए ।

एक पक्षीय खेलको पहिलो हाफमै नेपाल २–० गोलले पछि पर्‍यो । २३ औं मिनेटमा कप्तान खालेद हजियाले कुवेतलाई अग्रता दिलाए । फवाज अलोताइबीको कर्नरमा नेपाली डिफेन्स र गोलरक्षकबीच समन्वय हुन नसक्दा हजियाले हेडर गर्दै खाली पोस्टमा गोल गरे ।

नेपालले काउन्टर अट्याकमा पाएको अवसर सदुपयोग गर्न सकेन । ४१ औं मिनेटमा शाइबाइबा अल्खाल्दीले कुवेतको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलको अग्रता लिएको कुवेतले दोस्रो हाफमा थप १ गोल गर्दा नेपालले पनि १ गोल फर्कायो । ५७ औं मिनेटमा नेपालले अन्तर घटाउने मौका गुमायो ।

अन्जनको पासमा पेनाल्डी बक्समा रहेका सनिश श्रेष्ठको हेडर फ्रेममा पर्न नसक्दा नजिकै रहेका मनिष डाँगीले बल भेट्टाउन सकेनन् । ६५ औं कुवेतले तेस्रो गोल गर्यो । डिफेन्डर अनन्त तामाङले बक्स भित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा मोहम्मद अब्दुल्लाहले कुनै गल्ती गरेनन् । त्यसको ३ मिनेटपछिनै अन्जन विष्टको गोलबाट नेपाल खेलमा फर्कियो ।

अनन्तले दिएको लामो पास कुवेती डिफेन्डरले गोलरक्षकलाई दिएको ब्याक पास नियन्त्रणमा लिँदै अन्जनले वान भर्सेस वानमा उत्कृष्ट गोल गरे । यो गोलसँगै अन्जन नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बराबरी गर्नबाट १ गोलले पछि छन् । व्यक्तिगत गोल संख्या १२ पुर्याएका उनी समान १३–१३ गोल गरेका निराजन रायमाझी र हरी खड्का भन्दा १ गोल पछि छन् ।

७५ औं मिनेटमा कुवेतले अग्रता फराकिलो पार्ने मौका गुमायो । अब्दुल्लाहले क्लोज रेन्जबाट गरेको कडा प्रहार किरण चेम्जोङले बचाए । खेलको अन्तिम समयमा कुवेतको राम्रो प्रयासमा किरण बाधक बने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्