खेलकूद

शायन जाहङ्गिरको नटआउट शतकको मद्दतले अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

हिमालय टिभी
२०८० असार ५ गते १७:०१
शायन जाहङ्गिरको नटआउट शतकको मद्दतले अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

५ असार २०८० काठमाडौं । आईसिसी एकदिवसीय विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा अमेरिकाले नेपाललाई जितका लागि २ सय ८ रनको मध्यम लक्ष्य दिएको छ ।

जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस गुमाएर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ७ रन बनायो । अमेरिकाका लागि विकेटकिपर शायन जाहांगीरले नटआउट शतकीय पाली खेले ।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि पहिलो ओभरको सुरुवाती ५ बल डट राखेका ललित नारायण राजवंशीले अन्तिम बलमा चार रन खर्चिए । तर दोस्रो ओभरको अन्तिम २ बलमा तीव्र गतिका बलर करण केसीले नेपाललाई सफलता दिलाए ।

ओभरको पाँचौं बलमा ओपनर स्टेभन टेलरलाई एलबिडब्लु आउट गरेको करणले अन्तिम बलमा साईतेजा मुकामल्लालाई आरिफ शेखबाट क्याच गराए । सुरुवाती ४ विकेट लिने क्रममा करणले आठौं ओभरमा कप्तान आरोन जोन्सलाई कुशल भुर्तेल र १० औं ओभरमा केंजिगेलाई आरिफबाट क्याच गराए । त्यतिबेला ४ विकेट गुमाउँदा अमेरिकाले मात्र १८ रन जोडेको थियो ।

पाँचौं विकेटका लागि सुशान्त मोदानी र गजानन्द सिंहले ४७ रनको साझेदारी गर्दै अमेरिकाको पाली उकासे । तर अघिल्लो खेलमा वेस्टइन्डिजविरुद्ध शतक बनाएका गजानन्दलाई २२ औं ओभरमा दीपेन्द्र सिंह ऐरीले आरिफबाट क्याच गराउँदै साझेदारी तोडे ।

२८ औं ओभरमा ४२ रन बनाएर खेलिरहेका ओपनर मोदानीलाई ललितले बोल्ड गरे । तर सातौं नम्बरमा ब्याटिङका लागि आएका शायनले नटआउट १ सय रन बनाउँदै अमेरिकालाई मध्यम स्तरमा पुर्याए । बलिङमा करनले ४, गुल्शन झाले ३, दीपेन्द्रले २ र ललितले १ विकेट लिए ।

स्पिनर सन्दीप लामिछाने आज पनि विकेट विहिन बने । १० ओभरमा ५८ रन खर्चिदा उनले कुनै विकेट लिन सकेनन् । छनोटको पहिलो खेलमा जिम्बावेविरुद्ध विकेट विहिन बनेका उनी पहिलो पटक लगातार दोस्रो ओडिआईमा विकेट विहीन बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्