भेरी अस्पतालमा सर्पदंशका बिरामीको बढ्यो चाप (भिडियो रिपोर्टसहित)

२०८० जेठ १५ गते १५:०५
भेरी अस्पतालमा सर्पदंशका बिरामीको बढ्यो चाप (भिडियो रिपोर्टसहित)

१५ जेठ २०८० बाँके । वर्षा सुरु भएसँगै नेपालगन्जको भेरी अस्पतालको इमरजेन्सी र आइसियु वार्ड सर्पले टोकेका बिरामीले भरिन थलेको छ ।

पछिल्ला दिनमा दैनिक ५ देखि १२ जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् । घर नजिकैका अस्पतालमा उपचार नहुँदा बाँके, बर्दिया, कैलाली र दाङका बिरामी चारदेखि ५ घण्टा लगाएर भएपनि बिरामीलाई अस्पताल पुर्‍याउने गर्दछन् । समयमा अस्पताल पुग्ने बाँच्ने गरेका छन् भने नपुगेकाहरू मृत्युवरण गर्न बाध्य छन् ।

दैलेखका माधव आचार्यलाई गत वैशाख ३१ गते बाँकेको कोहलपुरमा सर्पले डस्यो । कोहलपुरस्थित आफन्तकामा बन्दै गरेको नयाँ घरमा सुतेका बेला राति आचार्यलाई सर्पले डसेको थाहा भएन ।

नजिकैको मेडिकल हुँदै शिक्षण अस्पताल कोहलपुर पुग्नुभयो । अनेक स्वास्थ्य परीक्षण गरेपछि सर्पदंश भएको अनुमान लगाएपछि १४ घण्टापछि भेरी अस्पताल लगियो । अस्पतालको सघन उपचार कक्षमा राखेर ‘क्रिटिकल केयर’सहित सर्पदंशको उपचार सुरु गर्‍यो । र, नौ दिनमा आचार्यले पुनर्जीवन पाउनुभयो ।

आचार्य जस्तै बाँकेकी सहजरानी थारुको पनि भेरी अस्पतालमा उपचार भइरहेको छ । समयमा अस्पताल आउँदा दुवै जनाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । अन्य बिरामी पनि उपचार पाएर निको हुँदैछन् ।

ढिलो गरी अस्पताल पु¥याउँदा अधिकाश बिरामी गम्भिर अवस्थामा पुग्ने गर्दछन् । बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने गरिएको छ । समय मै अस्पताल पुराएर भेन्टिलेटरमा राखेर उपचार गर्दा बिरामीको ज्यान बचाउन सकिन्छ । तराईका विभिन्न स्थानमा सर्प डसाइले हरेक वर्ष अकालमा ज्यान जाने गरेकाले त्यसबाट बचाउन सर्पदंशबाट कसैको मृत्यु नहोस् भन्ने नाराका साथ नेपालका २५ जिल्लामा चार वर्षे सर्पदंश रोकथाम अभियान सुरु भएको छ ।

सर्पदंशको प्रकोप बढ्दै गएकाले झुल लगाएर खाटमा सुत्न, घर बाहिर निस्कदा टर्च बालेर सजक भएर निस्कन र घर बाहिर काम गर्दा होसियार हुनुपर्ने चिकित्सकको सुझाव छ ।

सर्पले टोकेमा गाउँटोलकै धामी, झाँक्री, गुरुवा वा अरु परम्परागत विधिमा नअल्झेर बिरामीलाई तुरुन्त सर्पदंश उपचार केन्द्र वा उपचार हुने प्रेषण अस्पतालमा ल्याउनुपर्ने चिकित्सक बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *