स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकबिहीन

२०८० वैशाख ६ गते ८:१२
स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकबिहीन

६ वैशाख २०८० भजनी । कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् ।

सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् ।

नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउनुहुन्छ । नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उहाँको भनाइ छ । चौधरी भन्नुहुन्छ, “चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ ।”

सङ्घी सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताउनुभयो । पहिलो किस्तामा रु एक करोड ९२ लाख र दोस्रो किस्तामा रु ४२ लाख पठाएको थियो । चालु आवमा रु एक करोड ४२ लाख बजेट उपलब्ध भएको उहाँले बताउनुभयो । चौधरीले भन्नुभयो, “स्थानीय तहले बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन ।”

तत्काल नगरपालिकाबाटै भए पनि दुई महिनाको तलब उपलब्ध गराउन स्वास्थ्यकर्मीले माग गरेका छन् । नगरपालिकाका प्रमुख केवल चौधरीले स्वास्थ्यकर्मीको समस्या नगरपालिकाले समाधान गर्न नसक्ने बताउनुभयो । स्वास्थ्यकर्मीलाई तलव खुवाउने जिम्मा सङ्घीय सरकारको भएको उहाँको भनाइ छ ।

“कर्मचारी सङ्घीय सरकारबाट आएका हुन् । उनीहरूको सेवासुविधा सङ्घीय सरकारले नै बेहोर्नुपर्छ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “हामीले नियुक्त गरेका कर्मचारीको सेवासुविधा रोकेका छैनौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *